काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्यासी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन्। नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघको साधारणसभामा ढकालले यस्तो बताएका हुन्।
‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौं जायज माग राख्दा पनि सुन्न छाडेको छ,’ ढकालले भने, ‘जससम्म सरकारले निजी क्षेत्रलाई साझेदारको रुपमा हेरेर सहकार्य गर्दैन तवसम्म देशमा हामीले सोचेजस्तो आर्थिक विकास हुन सक्दैन।’ देशको उद्योग कलकारखाना स्थापना गरेर स्वदेशभित्रै रोजगारी सिर्जना नगरेसम्म देश आर्थिकरुपमा सम्पन्न हुन नसक्ने उनको तर्क थियो।
‘कुनै समय कार्पेट, पस्मिना, गार्मेन्ट उद्योगले देशको भुक्तानी सन्तुलत गर्न ठूलो योगदान दिएको थियो भने सोही अनुरुप रोजगारी पनि सिर्जना भएको थियो,’ उनले भने, ‘त्यस्ता वस्तु उत्पादनका लागि आवश्कय कच्चा पदार्थ उत्पादनका लागि सरकारले ध्यान नदिनुका साथै निर्यातमा समेत झण्झटिलो प्रक्रिया हुँदा अहिले नगन्य मात्रामा निर्यात हुन थालेको छ।’
सरकारले निर्यातका सम्भावनाका क्षेत्रको पहिचान गरी त्यस्ता वस्तु उत्पादनका प्रयोग हुने कच्चा पदार्थको भन्सार छुट दिनुका साथै बैंककाट सहुलियत ब्याजदरमा कर्जा पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो। देशमा समयसापेक्ष सरकारमा राजनीतिक नेतृत्व फेरिरहने भएपनि कर्मचारीतन्त्र भनेको स्थायी सरकार रहेको भन्दै आर्थिक एजेन्डामा कर्मचारीले विशेष ध्यान दिनुपर्ने समेत उनको भनाइ थियो।


