पोखरा- पोखरामा विद्यालय नाटक महोत्सव हुने भएको छ। पोखरा थिएटरको आयोजनामा हुने नाटक महोत्सव यही भाद्र २७ देखि सुरु हुनेछ। आगामी असोज १२ गतेसम्म चल्ने महोत्सवको लोगो आइतबार सार्वजनिक गरिएको छ।
पाँचौं संस्करणको विद्यालय नाटक महोत्सवमा कुल १५ वटा नाटक मञ्चन हुनेछन्। जस अन्तर्गत पोखरा महानगरपालिका भित्रका विद्यालयका १४ नाटक रहनेछन्। यसका अलावा अतिथि नाटकको रुपमा काठमाण्डौंबाट थप एक नाटक मञ्चन हुने पोखरा थिएरटका अध्यक्ष एवं महोत्सव संयोजक परिवर्तनले जनाए। यी नाटक गन्धर्व नाटकघरमा महोत्सव अवधिभर हरेक दिन एक–एक वटाका दरले मञ्चन गरिनेछ।
त्यसोत पोखरा थिएटरले २०७६ मा पोखरा महानगरपालिका स्तरिय विद्यालय नाटक महोत्सव गरेको थियो। त्यसपछि गण्डकी प्रदेशस्तरिय विद्यालय नाटक महोत्सव आयोजना गर्यो। लगातार तीन वर्षसम्म प्रदेश स्तरिय विद्यालय नाटक महोत्सव आयोजना गरेको थिएटरले यसपटक पोखरा विद्यालय नाटक महोत्सव आयोजना गर्न लागेको हो।
थिएटरमा भैरहेका गतिविधिका कारण पछिल्लो समयमा थिएटरप्रति विद्यार्थीको आर्कषण समेत बढ्न थालेको अध्यक्ष परिवर्तनले बताए। महोत्सवको नारा ‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ रहेको छ।


