काठमाडौँ: अमेरिका, युक्रेन र रुसबीच एक साताभित्र कार्यदलस्तरमा त्रिपक्षीय वार्ता हुने भएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जारेड कुश्नरसँगको छलफलपछि यस्तो जानकारी दिएका हुन्।
जेलेन्स्कीले बुधबार सामाजिक सञ्जाल एक्समा अमेरिकी प्रतिनिधिसँग करिब डेढ घण्टा विस्तृत छलफल भएको र त्यस क्रममा तीन देशबीच आगामी कूटनीतिक वार्ताको तयारी भइरहेको बताएका छन्। ‘हामी युक्रेन, अमेरिका र रुसबीच कार्यदलस्तरमा त्रिपक्षीय वार्ताको तयारी गरिरहेका छौं। यो वार्ता एक साताभन्दा कम समयभित्र हुनेछ,’ उनले लेखेका छन्।
उनका अनुसार युक्रेनको युद्धपछिको पुनर्निर्माणका विषयमा ब्रसेल्समा युक्रेन, अमेरिका, युरोपेली संघ, फ्रान्स, बेलायत, जर्मनी, नेटो, विश्व बैंक तथा अन्तरराष्ट्रिय व्यावसायिक क्षेत्रका प्रतिनिधिबीच पनि छलफल भएको छ। युक्रेनको सुरक्षा प्रत्याभूतिबारे छलफल गर्न शुक्रबार ब्रसेल्समा अर्को बैठक तय भएको उनले जानकारी दिएका छन्।
जेलेन्स्कीले युद्ध अन्त्यका लागि वार्ता तीव्र गतिमा अघि बढाउनुपर्ने बताउँदै युक्रेन आवश्यक कदम चाल्न तयार रहेको उल्लेख गरेका छन्। यससम्बन्धी आफ्ना प्रस्ताव अमेरिकी पक्षलाई बुझाइसकेको उनको भनाइ छ।
अमेरिकासँगको छलफलमा हवाई प्रतिरक्षा प्रणालीलाई पनि प्राथमिकता दिइएको उनले बताएका छन्। विशेषगरी रुसी आक्रमणबाट सर्वसाधारणको ज्यान जोगाउन प्याट्रियट क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा प्रयोग हुने इन्टरसेप्टर उपलब्ध गराउन उनले आग्रह गरेका छन्।
युक्रेनले अमेरिकासँग प्रस्तावित ड्रोन सम्झौताको ढाँचामा द्विपक्षीय सहकार्यलाई पनि निरन्तरता दिन चाहेको जेलेन्स्कीले बताएका छन्। उनले युद्धपछिको सुरक्षा प्रत्याभूति बलियो र विश्वसनीय हुनुपर्नेमा जोड दिएका छन्।
यसैबीच, अमेरिकी विशेष दूत विटकफले यसअघि नोभेम्बर १० र ११ मा अबुधाबीमा युक्रेन र रुसबीच कार्यदलस्तरको वार्ता गराउने अमेरिकी तयारी रहेको बताएका थिए। उक्त वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था, तनाव न्यूनीकरण, मानवीय सहायता तथा शान्ति सम्झौताका लागि आवश्यक कदमबारे छलफल हुने बताइएको छ।
युक्रेन र रुसबीच वार्ताको तयारी भइरहेका बेला रुसी आक्रमण भने जारी छ। जेलेन्स्कीका अनुसार नोभेम्बर ३ मा युक्रेनका विभिन्न क्षेत्रमा भएका रुसी आक्रमणमा कम्तीमा २९ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।
उक्त आक्रमणमा रुसी सेनाले २८९ ड्रोन, १७ ब्यालेस्टिक क्षेप्यास्त्र र ५९ क्रुज क्षेप्यास्त्र प्रहार गरेको युक्रेनी राष्ट्रपतिको दाबी छ। आक्रमणको मुख्य निशाना ऊर्जा पूर्वाधार, विद्युत् उत्पादन केन्द्र र सबस्टेसन बनेका थिए। ओडेसा, चेर्कासी, झितोमिर, भिनित्सिया, खार्किभ, डिनिप्रो, चेर्निभ्त्सी, चेर्निहिभ र रिभ्ने क्षेत्रमा विद्युत् आपूर्तिसमेत अवरुद्ध भएको उनले बताएका छन्। एएनआई


