काठमाडौँ- सरकारले बढी राजस्व उठाउने नाममा उद्योगी/व्यवसायीको कम्पनी फर्ममाथि छापा मारेर दुःख दिन थालेको व्यवासयी उमेशलाल श्रेष्ठले बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठले आर्थिक क्षेत्रको संवाहक निजी क्षेत्र भएकाले उसको मनोबल उकास्न नयाँ नयाँ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै यस्तो बताएका हुन्।
‘अहिले निजी क्षेत्र एकदमै समस्याबाट गुज्रिरहेको छ भने जसका कारण अर्थतन्त्र पनि समस्यामा परेको छ,’ उनले भने, ‘अहिले सरकारले उद्योगी व्यवसायीको मनोबल उच्च बनाएर देशको अर्थतन्त्र चलायमान बनाउने पर्ने अवस्थामा विभिन्न खालमा समस्या सिर्जना गरेर हतोत्साहित गरेको छ जुन एकदमै गलत छ।’
उनले उद्योगी/व्यवसायीले बैंकको कर्जा वा ब्याज नतिर्ने नभनेको तर हालको अवस्थामा राष्ट्र बैंकले कर्जाको पुर्नतालिकीरण र सरकारले ब्याजमा सहुलियत दिनु जरुरी रहेको उल्लेख गरे। देशको अर्थतन्त्रमा निजी क्षेत्रले ६५ देखि ७० प्रतिशत योगदान दिँदै आएको भन्दै अर्थतन्त्र जोगाउनका लागि पनि सरकारले निजी क्षेत्रको सुरक्षा दिनुपर्ने बताए ।
अहिले महासंघको पुरानो गरिमामा आच आएको भन्दै आफूलाई वरिष्ठ उपाध्यक्षमा जिताएर पठाएको अवस्थामा उक्त गरिमालाई उच्च बनाउँदै सम्मानित व्यवसायी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
‘राज्यलाई सबैभन्दा बढी योगदान दिँदै आएको हामी निजी क्षेत्रलाई हेर्ने नजर एकदमै गलत छ भने जाजय माग राख्दा पनि सरकारले सुनुवाई गरिहेको छैन,’ उनले भने, ‘हामीले राज्यसँग माग्ने होइन देशको अर्थतन्त्र सुधारका लागि राज्यले हामीसँग सल्लाह सुझाव माग्न आउने अवस्था बनाउने छु।’
यसैगरी कार्यक्रममा उमेशलाल समूहबाट जिल्ला नगर तर्फका प्रत्यासी दिनेश श्रेष्ठले साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले उम्मेदवारी दिएको बताए।
‘यो क्षेत्रको नेतृव गर्नु भनेको समग्र निजी क्षेत्रको नेतृव गरे सरह हो भन्ने विश्वासका साथ मैले नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिएको हुँ,’ श्रेष्ठले भने। व्यवसायिक हितका लागि फुटेरभन्दा पनि जुटेर अघि बढ्नुपर्ने अवस्था आएकाले आफूले उमेशलाल श्रेष्ठलाई वरिष्ठ उपाध्यक्षमा अघि बढाएको समेत उनले उल्लेख गरे।


