काठमाडौँ– मंगलबार बिहान निधन भएका संविधानसभाका अध्यक्षसमेत रहेका एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव एमाले कार्यालय च्यासल लगिएको छ। नेम्वाङप्रति श्रद्धाञ्जलि अर्पणका लागि राजकीय सम्मानका साथ उनको शव च्यासल लगिएको हो।
नेम्वाङको निधन भएपछि उनका दुई छोराहरू विदेशबाट फर्कने क्रममा छन्। छोरा अस्ट्रेलियाबाट फर्केपछि उनको अन्तिम संस्कार गर्ने तयारी रहेको एमालेले जानकारी दिएको छ। मंगलबार दिनभर श्रद्धाञ्जलिका लागि राखेर बुधबार अन्त्येष्टि गरिने छ।
यस्तै एमालेका महासचिवसहितको टोली पनि चीनबाट भ्रमण छोट्याएर फर्कने भएको छ।
निधन भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए। दिवंगत नेम्वाङको पार्थिव शरीरलाई राजकीय सम्मानका बिदाइ गर्ने र बुधबार सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरिसकेको छ।
उनको निधनपछि नेकपा ऐमालेका सम्पूर्ण पूर्वनिर्धारित कार्यक्रम स्थगित भएका छन् भने सुदूरपश्चिमको धनगढीमा तय भएको समाजवादी मोर्चाको सन्देशसभा पनि स्थगित गरिएको छ। नेपाली कांग्रेसको आयोजनामा भइरहेको बीपी साहित्य महोत्सवको अन्तिम दिनका कार्यक्रम पनि स्थगित भएका छन्।










