काठमाडौँ- काठमाडौं-३२ तीनकुनेस्थित दिव्य काठ मिलभित्र शुक्रबार राति एकै परिवारका तीनसहित चार जनाको हत्या भयो।
उक्त हत्याकाण्ड कसले गराएको हो भनी प्रहरीले दुई दिनसम्म पत्ता लगाउन सकेको छैन। आशंकित व्यक्ति भने पक्राउ परेका छन्।
पक्राउ परेकामध्ये उक्त हत्याकाण्डका एक मात्रै ‘साक्षी’ धनकुटा घर भई तीनकुने बस्दै आएका २८ वर्षीय दीपेन्द्र राई हुन्। उनी हत्या भएको रात प्रहरी वृत्त बानेश्वरमा ट्याक्सी चढेर पुगेका थिए।
दिव्य काठ मिलभित्र एउटा टहरोमा चार जनाको हत्या भएको थियो। दीपेन्द्र त्यहाँ विगत सात-आठ वर्षदेखि बस्दै आएको प्रहरीले जनाएको छ।
‘दीपेन्द्र सात-आठ वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ, उनी आशंकाको घेरामा मात्रै छन्, हत्याकाण्ड मच्चाउने को हो भन्ने निष्कर्षमा पुग्न कठिन छ,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने, ‘अनुसन्धान जारी छ, हामीले विभिन्न कोणबाट हत्याको अनुसन्धान गरिरहेका छौं।’
दीपेन्द्र काठ मिलमा ग्राहकलाई सामान देखाइदिनेलगायत सञ्चालकले अह्राएको काम गर्ने गरेका थिए। उनी एउटा एजुकेसन कन्सल्टेन्सीमा पनि काम गर्ने गरेको खुलेको राठौरले बताए।
काठ मिलभित्र दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, उनकी आमा ७० वर्षीया शुभद्रा भुजेल भुजेल र मोरङ बेलबारी घर भएका १९ वर्षीय नवीन राईको शुक्रबार राति हत्या भएको थियो।
दिव्य सः काठ मिलका सञ्चालक दोलखा कालिञ्चोक गाउँपालिका-८ घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटी हुन्। उनी दोलखाका एमाले नेता हुन्। गत प्रतिनिधिसभा निर्वाचनमा उनी दोलखाबाट पराजित भएका थिए। ५४ वर्षीय शिवाकोटी आफूले तीस वर्षदेखि तीनकुनेमा काठ मिल चलाइरहेको बताउँछन्।
दीपेन्द्रका बुवा मच्छिन्द्र राई १५/२० वर्षसम्म उक्त मिलमा काम गरेर छोडेका थिए। उनी अहिले गाउँमै छन्। हत्या गरिएका नवीन राई दीपेन्द्रका काकाका छोरा हुन्। उनी एक महिनाअघि मात्रै काठमाडौं आएका थिए।
उनी वैदेशिक रोजगारीको सिलसिलामा प्रक्रिया अघि बढाउन काठमाडौं आएका थिए।
शिवाकोटी भने आफ्नो मिलभित्र दीपेन्द्र बस्थे/बस्दैनथे केही थाहा नभएको दाबी गर्छन्।
‘अहिले व्यापार घाटा छ, कहिलेकाहीँ जाने गर्थें, नियमित जान्न,’ शिवाकोटीको दाबी छ।
हत्या भएकी शुभद्रा आफ्ना श्रीमानको श्राद्ध गर्न भनी बिहीबार मात्रे त्यहाँ आएकी थिइन्।
दीपेन्द्र बानेश्वर वृत्तमा ‘घटनाबारे जानकारी दिन आएको’ भन्दै पुगेका थिए। उनको कपडामा रगत लागेको थियो।
काठ मिलनजिकै बत्ती थिएन। अँध्यारो ठाउँ भएकाले अनुसन्धानमा कठिनाइ भएको प्रहरीको भनाइ छ। मिलमा सीसीटिभी जडान गरिएको थिएन।
बाहिर सडकमा राखिएका सीसीटिभी फुटेज हेर्दा केही मानिसहरू देखिन्छन्।
घटनामा प्रयोग भएको दाउ प्रहरीले बरामद गरेको छ। शवहरू हेर्दा क्रुर तरिकाले हत्या गरिएको देखिएको राठौरले बताए।


