काठमाडौँ- त्रिभुवन विश्वविद्यालयका पूर्वउपकूलपति तथा जापानका लागि पूर्व नेपाली राजदूत डा केदारभक्त माथेमाले नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले परिकल्पना गरेको शिक्षा समानता, सामाजिक न्याय, सार्वजनिक, सहज, समान अवसर र व्यावहारिकतामा आधारित रहेको बताएका छन्।
कांग्रेस संस्थापक बीपीको ११०औँ स्मृति दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित बिपी साहित्य सम्मेलनको कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘शिक्षालाई विद्यार्थीले एउटा शैक्षिक तह उत्तीर्ण गर्ने माध्यम, अभिभावकले रोजगार प्राप्त गर्ने साधन, समाजले बौद्धिक र समाजअनूकुलको माध्यमको रुपमा लिने गर्छन्,’ उनले भने, ‘तर एउटा राजनेताले शिक्षालाई समाज बदल्ने साधनको रुपमा लिन्छ। बिपी त्यही राजनेता हुनुहुन्थ्यो।’
कार्यक्रमको प्रारम्भमा पूर्वउपकूलपति डा माथेमाले ‘बिपीको समाजवादी परिकल्पनामा शिक्षा’ विषयमा सम्भाषण प्रस्तुत गरेका थिए।
शिक्षाविद् डा माथेमाले नेपाली साहित्यका एक नक्षत्र बिपीको क्षमता कला, संस्कृति, राजनीति, साहित्य र समाजको क्षेत्रमा अतुलनिय योगदान भएको जनाउँदै पूर्वअमेरिकी राष्ट्रपति टमक जेफर्सनसँग बिपीको तुलना गरे।
शिक्षा समान कहिल्यै हुँदैन र यसमा राजनीति हुने भन्दै राजनीतिकको हस्तक्षेप र व्यापारिकरणबाट शिक्षालाई अलग गर्नसक्नुपर्नेमा जोड दिए।
नेपालसहित दक्षिण एसियाली मुलुकमा शिक्षामा अधिक व्यापारीकरण हुने गरेको भन्दै डा माथेमाले नेपालका सन्तानलाई शिक्षाका लागि अभिभावकले जीवनभर कमाएको आम्दानीको ५० प्रतिशतसम्म खर्च गर्ने गरेको उल्लेख गरे।
शिक्षाविद् डा माथेमाले भने, ‘शिक्षामा अधिक लगानी गर्नु पर्दा स्रोत जुटाउनकै लागि नेपालमा भ्रष्टाचार हुने एउटा कारण हो। बीपीले सिर्जनशीलता र नवीन शिक्षाको एवम् सबैका लागि शिक्षा, हस्तक्षेपरहित र स्वातन्त्र शिक्षा संस्थाको कल्पना गर्नुभएको थियो।’
हाल नेपालका विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप चरम रुपमा रहेको उल्लेख गर्दै उनले उपकूलपति र विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा भागबण्डा र राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र बिग्रिएको बताए। उनले परीक्षा दिएर उत्तीर्ण हुने र जागिर खानका लागि मात्र शिक्षा प्रदान गर्ने प्रणालीमा सुधारको खाँचो औंल्याए।


