काठमाडौँ- के तपाई आउँदै गरेको बडादशैंका लागि नयाँ नोट साट्न जाँदै हुनुहुन्छ? नयाँ नोट साट्न अब पैसाको मुठो बोक्ने झन्झटमा मुक्ति मिल्ने भएको छ।
नेपाल राष्ट्र बैंकले आउँदै गरेको बडादशैंका बेला क्यूआर कोडमार्फत स्क्यान गरेर पनि नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको छ। राष्ट्र बैंकले तोकेका देशका विभिन्न स्थानबाट यस्तो सेवा पाइने छ।
यस व्यवस्थाले नयाँ नोट साट्न बैंकहरुमा ग्राहकले नगद बोकेर आउनु नपर्ने र लामो लाइनमा बस्ने झन्झट समेत नहुने राष्ट्र बैंकको भनाइ छ।
देशभर रहेका ७९ वटा नोट कोषबाट क्युआर कोड स्क्यान गरी नयाँ नोट सटहीको व्यवस्था हुने राष्ट्र बैंकका सूचना अधिकारी डा. डिल्लीराम पोखरेलले बताए।
‘क्यूआर कोडमार्फत भुक्तानी गर्नेले मात्र नयाँ नोट सटही सुविधा पाउने भन्ने होइन। सबैले पाउँछन्,’ उनले भने, ‘तर सम्भव भएसम्म क्यूरआरमार्फत भुक्तानी गर्न आग्रह गर्छौं।’
उनका अनुसार, अब कुनै पनि व्यक्तिले अघिल्ला वर्षहरु जस्तो नयाँ नोट साट्न पुराना पैसाका बिटा बोकेर बैंकको लाइनमा कुर्नुपर्ने छैन। एकजनाले ५, १०, २०, ५० र १०० रुपैयाँ बराबरको एक/एक प्याकेट नयाँ नोट साट्न पाइन्छ। एकजनाले १८ हजार ५०० रुपैयाँ नयाँ नोट पाउन सक्ने राष्ट्र बैंकले जनाएको छ।
नयाँ नोट सटही घटस्थापनापछि सुरु हुने उनले बताए। राष्ट्र बैंकले यस वर्षको चाडपर्वका लागि ३५ देखि ४० अर्बको नयाँ नोट जारी गर्ने जनाएको छ। डिजिटल कारोबार बढेकाले अघिल्ला वर्षमा भन्दा कम नयाँ नोट बजारमा आउने जनाइएको छ।
गत वर्ष राष्ट्र बैंकले ५५ अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाएको थियो। त्यस्तै, राष्ट्र बैंकले १ र २ रुपैयाँका सिक्का जस्तै ५ रुपैयाँको नयाँ सिक्का प्रचलनमा ल्याउने भएको छ।
नोट छपाइ तथा सिक्का टकमरीसम्बन्धी निर्देशिका २०६५ को पहिलो संशोधन २०७५ अनुसार नयाँ डिजाइनमा ५ रुपैयाँको सिक्का प्रचलनमा आउन लागेको हो।
हाललाई १५ करोड बराबरको ५ रुपैयाँ नयाँ सिक्का टकमरी गर्न लागिएको हो।


