काठमाडौँ– नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले अभियन्ता ई:का मागबारे समाधान खोज्न माग गरेको छ।
बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका समितिले काठमाडौँ महानगरका प्रमुखसँग बालेनलाई यस्तो आग्रह गरेको हो।
‘आन्दोलनरत पक्षसंग अविलम्ब वार्ता गरी समाधान खोज्न नेपाली काङ्ग्रेस काठमाण्डौं महानगर समिति का.म.पा. प्रमुखसंग जोडदार माग गर्दछ,’ महानगर समितिका सभापति निलकाजी शाक्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
सत्तामा बसेकाहरुले हुँदैन, सकिँदैन, मिल्दैन भनी निषेध मात्र गर्नु गैरजिम्मेवार र अकर्मण्यता मात्र भएको कांग्रेस काठमाडौँको ठहर छ।
‘आफ्नो अधिकार क्षेत्रको काम कर्तव्यलाई यी वा ती बहानामा अरु निकायलाई पन्साएर आफ्नो दायित्वबाट विमुख हुने छुट कसैलाई छैन,’ विज्ञप्तिमा भनिएको छ।
महानगर प्रमुखको कार्यालयबाहिर उभिएर विरोध गरी रहेको ईलगायतको स्वास्थ्यप्रति पनि कांग्रेसले चिन्ता व्यक्त गरेको छ।
सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै अभियन्ता ई:ले १९९ घण्टादेखि उभिएर विरोध गरिरहेका छन्।



