काठमाडौँ– काठमाडौँ महानगर र अभियन्ता ई:बीच सहमति भएको छ।
बुधबार दिउँसो काठमाडौँ महानगर र ई:का प्रतिनिधिबीच भएको वार्ताले सहमति जुटाएको हो।
यसअघि मंगलबार दिउँसोदेखि राति अबेरसम्म दुवै पक्षबीच छलफल हुँदा पनि निष्कर्ष निकाल्न सकेको थिएन।
बुधबारको वार्तामा मेयर बालेन शाहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल, सचिवालय सहजकर्ता धिरज जोशी र ईःका तर्फबाट सौरभ न्यौपाने र ईः आफैं सहभागी थिए।
महानगरले सडक व्यवसायीलाई व्यापार गर्न दिने समय र स्थान पहिचान गर्ने सहमति जुटेको छ।
बुधबार साँझ ई: उभिन सुरु गरेको १९९ घण्टा पुगिसकेपछि महानगर र ई:बीच सहमति जुटेको हो।
फुटपाथ व्यवसायीका लागि महानगरभित्र उपयुक्त स्थानको खोजी महानगरले गर्ने सहमतिमा उल्लेख छ। यसका लागि महानगरले एक साताको समय पाएको छ।
‘साविकमा फुटपाथ / सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि महानगरपालिका भित्र कानुनले निषेध गरेका स्थान बाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गर्न महानगरपालिकाले आजको मितिले एक हप्ताभित्र पहल गर्नेछ,’ सहमतिको चौथो बुँदामा उल्लेख छ।
यस्तै फुटपाथ/सार्वजनिकस्थलमा व्यापार गर्ने क्रममा जफत गरिएका सामानहरु महानगरपालिकाको स्टोरमा भएसम्म यकिन गरी सम्बन्धित सामानका धनीलाई महानगरले फिर्ता गर्न समेत महानगर सहमत भएको छ।
फुटपाथ व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउने विधि, प्रक्रिया तथा कानूनी व्यवस्था समेतको प्रबन्ध गर्न अध्ययन समिति समेत गठन भएको छ। समितिले २ महिनाभित्र महानगरपालिकामा प्रतिवेदन पेश गर्ने सहमतिमा उल्लेख छ।
समितिमा महानगरपालिकाले तोकेका ३ जना, ई:का तर्फबाट २ जना, भौतिक तथा यातायात मन्त्रालयको प्रतिनिधि १ जना, सहरी विकास मन्त्रालयको प्रतिनिधि १ जना, ट्राफिक प्रहरीको प्रतिनिधि १ जना रहने उल्लेख छ।
ई:ले ९ दिनदेखि उभिएर काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र उपमेयर सुनीता डंगोललाई चुनावी वाचापत्र सम्झाएका थिए।
बुधबार दिँउसो लामो स्टाटस लेख्दै आफूलाई सबै चुनावी वाचा कण्ठै रहेको र गरिबहरूका साथमा महानगर रहेको दाबी गरेका थिए।
यस्तै उनले ई:का माग पूरा गर्न नसकिने पनि उल्लेख गरेका थिए।
बालेनले ई:को आन्दोलन केही राजनीतिक दलका नेताको इशारामा भइरहेको समेत आरोप लगाएका थिए।



