पोखरा- पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा बिरामीको मृत्यु भएपछि सुरु भएको आन्दोलन स्थगित भएको छ। बिहीबार आन्दोलनरत पक्षसहित सर्वपक्षीय छलफलपछि ६ बुँदे सहमति गरी आन्दोलन स्थगति भएको हो।
लमजुङ सुन्दरबजार नगरपालिका-६ बस्ने वर्ष ५७ की शुकमाया दुराको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा असोज ७ गते मृत्यु भएको थियो।
चिकित्सकको लापर्बाहीको कारण दुराको मृत्यु भन्दै अस्पताल तोडफोड तथा चिकित्सकमाथि हातपात भएको थियो।
बिहीबार मृतक पक्ष, बुद्धिजीवी, भद्रभलादमी, मणिपाल शिक्षण अस्पतालका संचालक, कर्मचारी र चिकित्सकबीच सहमति भएको हो।
सहमतिअनुसार दुराको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले लमजुङ सुन्दर बजार नगरपालिका प्रत्येक वर्षको १ पटक १० वर्षसम्म नि-शुल्क स्वास्थ्य शिविर संचालन गर्नेछ।
यस्तै अस्पताल दुरा बिरामीको उपचारमा छुट दिने/शुल्क गर्ने, चिकित्सकमाथि हातपातको आरोपमा पक्राउ परेका विनय गुरुङको मुद्दा निष्कर्षमा पुर्याउन सहजीकरण गर्ने लगायतका सहमति भएका छन्।


