काठमाडाैँ- अभिनेता अनमाेल केसी हिरासतमुक्त भएका छन्।
प्रहरीले अनुसन्धानका लागि बोलाउँदा आउने र सहयोग गर्ने शर्तमा उनलाई हिरासतमुक्त गरिएको हो।
हाजिरी जमानीमा हिरासतमुक्त भएका उनलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले समय दिएको थियो।
शुक्रबार पक्राउ परेका उनका लागि दिइएको म्याद आइतबार पूरा भएपछि हिरासतमुक्त गरिएको हो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई शुक्रबार काभ्रेको साँगाबाट पक्राउ गरेको थियो।
अनुसन्धान तथा अभियोजनका लागि शुक्रबारै उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको थियो।
काठमाडौँ प्रहरीले उनलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौँ पुर्याएको थियो।
यसअघि आइतबारै केसीसँग प्रहरीले तीन घण्टा बयान लिएको थियो।
बयानका क्रममा अनमोलले आफूले १० लाख रुपैयाँ ‘रावायण’ निर्माण पक्षबाट लिएको स्वीकार गरेका थिए।
तर आफूले फिर्ता गर्न खोज्दा पनि निर्माताले लिन अस्वीकार गरेको केसीलाई उद्धृत गर्दै प्रहरीले बताएको छ।
स्क्रिप्ट चित्त नबुझेर फिल्म अस्वीकार गरेको अनमोलको दाबी छ।
रावायण निर्माण पक्षले भने केसीमाथि १ करोड १५ लाख रुपैयाँ भराउन माग गरेको छ।
फिल्म बनाउनका लागि भनेर आफूले ठूलो रकम बजरामा पठाइसकेको तर आपराधिक विश्वासघात गरी केसीले फिल्म खेल्न नमानेपछि उक्त रकम फसेको भन्दै केसीबाट क्षतिपूर्ति भराइपाउनुपर्ने निर्माण पक्षको भनाइ छ।
केसीविरूद्ध प्रारम्भिक रूपमा रावायण निर्माण पक्षकी चन्द्रकला कटवालले जाहेरी दिएकी थिइन्।
केसीले आपराधिक विश्वासघात गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी परेको थियो।
उक्त जाहेरीका आधारमा कार्यालयको टोलीले भक्तपुरको साँगाबाट शुक्रबार साँझ साढे ५ बजे पक्राउ गरेको थियो।
केसी आफ्नै कारमा काभ्रेबाट काठमाडौं फर्किँदै थिए। कार्यालयको टोलीले उनको कार साँगामा रोकेको थियो।
यो प्रकरणमा केसीलाई प्रहरीले पटक-पटक छलफलमा आउन बोलाएपनि नआएको कारण पक्राउ गर्न परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताएका थिए।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको पत्रका आधारमा केसीविरूद्ध जिल्ला अदालत काठमाडौंले बुधबार पक्राउ पूर्जी जारी गरेको थियो।


