काठमाडौं– इन्द्रजात्रा हेर्न गएका एक युवकको हत्या भएको छ। सोमबार राति इन्द्रजात्रा हेर्न बसन्तपुर पुगेका ओखलढुंगा लिखु–४ का १७ वर्षीय शनी कार्कीको हत्या भएको हो।
काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कमोध ढुंगेलका अनुसार उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो। धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका उनको मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको उनले बताए।
कार्कीलाई त्यसअघि ट्रमा सेन्टरमा लगिएको थियो। घटना अनुसन्धानको सिलसिलामा दुई जना पक्राउ परेका छन्। हत्यामा संलग्न व्यक्ति भने फरार रहेको ढुंगेलले बताए।


