काठमाडौँ- भारती मानन्धरले आफ्नो श्रीमान् चेतन मानन्धरको हत्यारा रिगल भनिने योगराज ढकाललाई जेलमा नै राख्न पर्ने माग गर्दै अनशन सुरु गरेकी छन्।
माइतीघर मण्डलामा भारतीले बुधबार बिहानदेखि अनशन सुरु गरेकी हुन्।
‘न्याय नपाएसम्म संघर्ष जारी राख्छु। म मर्न तयार छु तर न्याय नपाएसम्म फर्किन्नँ,’ अनशन सुरु गर्दै उनले भनिन्।
रिगलले २०७२ असार २८ गते नेपालगञ्जको धम्बोजी चोकमा खुँडा प्रहार गरी चेतनको हत्या गरेका थिए।
चेतन ठेक्कापट्टाको काम गर्थे। सुरूमा ढकाल र चेतन साथी-साथी थिए। कांग्रेसमै आबद्ध थिए।
ढकाल समूहबाट छुट्टिएर एक्लै ठेक्कापट्टा गर्न थालेपछि दुश्मनी बढेकाले रिगलले चेतनको हत्या गरेको भारतीको भनाइ छ।
जिल्ला अदालत बाँकेका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाखमा रिगललाई सर्वस्वसहित जन्मकैद (२० वर्ष)को सजाय सुनाएको थियो।
संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले कैद मिनाहा गरेपछि रिगल छुटेका थिए। यसपछि भारतीले आफूमाथि अन्याय गरिएको बताउँदै आएकी छन्।
राष्ट्रपतिलाई भारती सोध्छिन् – तपाईंको दिदी-बहिनी परेको भए के गर्नुहुन्थ्यो?


