काठमाडौँ- प्यालेस्टाइनी इस्लामिस्ट समूह हमासले गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार गाजा क्षेत्रमा शनिबार भएको आक्रमणमा परी उनीहरुको मृत्यु भएको हो।
‘१० जना नेपालीको हताहती भएको छ। हामी उनीहरू विस्तृत विवरण पुष्टि गरिरहेका छौं,’ मन्त्रालयले भनेको छ, ‘मृतकको शव संकलनको काम भइरहेको छ।’
मारिनेमा अधिकांश सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू हुन्।
सुदूरपश्चिम विश्वविद्यालयबाट १७ जना गएकोमा एक जना सम्पर्कविहीन छन् भने चार जना घाइते छन्।
मृत्यु हुनेहरूमा नारायण प्रसाद न्यौपाने, कैलाली, घोडाघोडी–४, गणेश कुमार नेपाली, बझाङ, जयपृथ्वी–६, आशिष चौधरी, कैलाली, बौनिया–३, दिपेश राज विष्ट, दार्चुला, लेकम–५, आनन्द साह, धनुषा, सपही–६, राजेश कुमार स्वर्णकार, सुनसरी, मधुवन–१, राजन फुलारा, डोटी, पचनली–३, पदम थापा, डोटी, लामिखाल–८, प्रवेश भण्डारी, सल्यान, शारदा–३, लोकेन्द्र सिं धामी, दार्चुला, मालिकार्जुन–४ रहेका छन्।
घाइतेहरूमा सल्यान त्रिवेणी–१ का प्रमोद केसी र कैलाली भजनी त्रिशक्ति–४ का वीरेन्द्र चौधरी सुरक्षित छन्। सल्यानकै शारदा–२ का विधान सेजुवाल, दाङ दंगिशरण–३ का प्रविण डाँगी, कैलाली, टिकापुर–९ का धन बहादुर चौधरी र गोरखा, गोरखा–८ का हिमाञ्चल कट्टेल छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको दूतावासले जनाएको छ।
कञ्चनपुर भीमदत्त –३ का विपीन जोशी भने सम्पर्कविहीन रहेको बताइएको छ।
गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न प्रोग्राम’ का लागि सेदोत नेगेभ क्षेत्रमा पुगेका उनीहरु सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायका आठौं सेमेस्टरका विद्यार्थी हुन्।
विश्वविद्यालयले सेदोत नेगेभ कृषि तालिम केन्द्रमा ४९ जना नेपाली विद्यार्थीहरु पठाएका थिए।
३२ जना कृषि विद्यार्थी भने विभिन्न कृषि फार्ममा रहेको बंकरमा सुरक्षित रहेका मन्त्रालयको भनाइ छ।
शनिबार हमासले अचानक इजरायली सहरमा अप्रत्याशित रूपमा आक्रमण गरेको थियो।
आइतबारको संसद बैठकमा बोल्दै परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा केही नेपाली हताहत भएको बताएका थिए।
मन्त्री साउदका अनुसार इजरायलमा अहिले ४ हजार ५ सय जना नेपालीहरू केयरगिभरको रूपमा रहेका छन्। यस्तै दुई सय ६५ जना विद्यार्थी पनि रहेको उनले बताएका थिए।
शनिबार हमासको आक्रमणपछि इजरायलले पनि आक्रमण थालेको छ। अहिले युद्ध जारी छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दुवै पक्षका गरी ५ सयभन्दा बढी मानिसले लडाइँमा ज्यान गुमाएका छन्।


