काठमाडौँ- नेकपा माओवादी संसदीय दलको बैठकमा सांसदहरूले इजरायलका नेपालीको तत्काल उद्धार गर्न माग गरेका छन्।
सोमबार सिंहदरवारमा बसेको बैठकमा माओवादी सांसदहरूले यस्तो माग गरेका हुन्।
सांसदको मागपछि माओवादी संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासको आक्रमणपछि त्यहाँको अवस्था बुझ्न निर्देशन दिएको बताए।
घाइतेको उपचार, हराएकाको खोजी, घटनामा परि निधन हुनु भएकाहरुको शवको पहिचान र नेपाल ल्याउन पहल गर्न निर्देशन दिएको जानकारी गराएका थिए।
घटनास्थलका बंकरहरुमा भएका नेपाली नागरिक (विद्यार्थी समेत) हरुको उद्धार र सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रधानमन्त्रीले निर्देशन गरेको प्रधानमन्त्रीको स्वकिय सचिव रमेश मल्लको भनाइ छ।
‘इजरायली पक्षसँग कुरा गरी आज नै युद्ध क्षेत्रका विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगिँदैछ। हमास समूह लुकिछिपी बसेको आशङ्का गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बंकरको विद्यार्थीलाई निकाल्न केही ढिलाई भएको हो,’ उनले भने।
प्रमुख सचेतक हितराज पाण्डेले इजरायल घटनामा मृत्यु भएकाहरूको शव नेपाल ल्याउने, घाइतेहरुको उपचारलगायत नेपाल फर्कन चाहनेहरुलाई व्यवस्थित गरेर ल्याउनेलगायतबारे छिटो पहलकदमी गर्ने निर्णय भएको बताए।
दिउँसो ४ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले इजरायलमा रहेको नेपालीहरुको उद्धार र घाइतेको उपचारबारे निर्णय लिने उनले बताए। आजै बस्न लागेको सर्वदलीय बैठकमा पनि त्यसबारे छलफल हुने बताए।


