काठमाडौँ- इजरायलको जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सार्न थालिएको छ।
इजरायली सेनाले सोमबार दिउँसोबाट सुरक्षित स्थानमा सार्न थालेको हो।
बर्दियाका लुइस रिजालले जोखिमयुक्त क्षेत्र सेदोत नेगेभबाट आफ्नो फार्ममा रहेका सबैलाई इजरायली सेनाले सुरक्षित स्थानतर्फ लगेको भिडियो फेसबुकमा राखेका छन्।
‘हाम्रो फार्मको सबै साथीहरुलाई उद्धार गरिएको छ। खानेकुरा पाएका छौँ। अब टेन्सन लिन पर्दैन। यहाँ अहिले चारैतिर इजरायली आर्मी मात्र छन्। हामीलाई स्कटिङ गरेर उद्धार गर्न सेना आइसकेको छ। सबै जनालाई नआत्तिनोस् भन्छु। आशा गरौँ राम्रो हुन्छ,’ रिजालले पोस्ट गरेको भिडियोमा भनेका छन्।
दक्षिण इजरायलको अन्य क्षेत्रबाट पनि नेपालीलाई उद्धार गरी सुरक्षित स्थलमा लगिएका भिडियो त्यहाँ रहेका नेपालीले सामाजिक सञ्जालमा राखेका छन्। हालसम्म ३२ जनाभन्दा बढीलाई सुरक्षित स्थानतर्फ लगिएको जनाइएको छ ।
प्यालेस्टाइनको चरमपन्थी समूह हमासले इजरायलको दक्षिण भूभागमा शनिबार आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।
अझै ठूलो संख्यामा नेपालीहरू बंकरमा लुकेर बसेका छन्।
भिडियो


