जाजरकोट- जाजरकोटको कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा वीरबहादुर सिंहका छोरीद्वय ९ महिनाकी निरञ्जना सिंह र ४ वर्षीया सुस्मिता छन्।
आइतबार हजुरआमासँग गइरहेका वीरका दुवै छोरीलाई अरिंगालले टोकेको थियो।
वडा सदस्य प्रदीप चलाउनेका अनुसार मृतक बालिकाद्वयकी हजुरआमा बिजुलीकुमारी सिंह स्वास्थ्य स्वयंसेविका हुन्।
दुवै नातिनीहरूलाई लिएर उनी घरबाट तलतिरको बाटोमा जाँदै थिइन्।
सानी नातिनीलाई उनले बोकेकी थिइन् भने चार वर्षिया सुस्मितालाई हात समातेर डोहोर्याउँदै उनी गइरहेकी थिइन्।
बाटोमा हिँड्ने क्रममा आइतबार दिउँसो १ बजेतिर बिजुलीलाई अरिंगालले आक्रमण गरेको थियो।
यसपछि दुवै नातिनीहरूमाथि पनि अरिंगाल खनिए। बिजुलीले नातिनीहरूलाई अरिंगालको डसाईबाट जोगाउन सकिनन्।
आफू नातिनीहरुमाथि अरिंगाल खनिएपछि आफू आत्तिएको चलाउनेलाई बिजुलीले बताएकी छन्।
एकछिनपछि सम्मालिएर घाइते अवस्थाकी बिजुलीले दुई घाइते नातिनीहरूलाई घरमा लिएर गइन्।
‘सामान्य होला भनेर गाउँमा खास वास्ता नभएको हुन सक्ने सदस्य चलाउनेको आकलन छ।
उनीहरूको घर पनि गाउँको अलि एकलास भागमा पर्ने भएकाले गाउँमा तत्कालै खबर नपुगेको चलाउनेको भनाइ छ।
तर ठूली नातिनीलाई गाह्रो हुन थाल्यो। साँझ ५ बजे नै सुस्मिताको मृत्यु भयो।
यसपछि मात्र गाउँमा हल्लाखल्ला भएको र स्थानीहरू जम्मा भएको चलाउनेले बताए।
सुस्मिताको मृत्यु भएपछि गाउँलेहरू पनि त्यततर्फ नै केन्द्रित हुन पुगेका थिए।
सानी निरञ्जनाको अवस्था गम्भीर बन्दै गयो।
राती नै उनलाई छेडागाड नगरपालिकास्थित थलह स्वास्थ्य केन्द्र लैजान भनेर बोकेर हिँडेका थिए।
तर स्वास्थ्य केन्द्र नपुर्याई बाटोमा नै उनको मृत्यु भयो। सुस्मिताको बिहान ५ बजे मृत्यु भएको हो।
उपचारका लागि बिरामी सुस्मितालाई बोकेर अस्पताल गएका गाउँलेहरू शव बोकेर फर्किए।
मृतककी हजुरआमाको स्वास्थ्य अवस्था अहिले सामान्य जस्तै देखिएको तर नातिनी गुमाएको शोकमा विह्वल रहेको चलाउनेको भनाइ छ।
दुई छोरी गुमाएकी आमा अर्धचेत अवस्थामा छिन्। उनी बोल्न सक्ने अवस्थामा समेत नरहेको चलाउनेले बताए।
बिजुलीका छोरा/मृतक दुई बालिकाका बुबा वीरबहादुर कामको खोजीमा भारत छन्।


