काठमाडौं– नेपाली नागरिक उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल जाने भएका छन्। स्वकिय सचिव दिपक जोशीका अनुसार मन्त्री साउद नेपाल एयरलाइन्सको जाहाजमा नेपाली नागरिकको उद्धार गर्न इजरायल जाने भएका हुन्।
बुधबार राति ११ बजे नेपालबाट दुबई ट्रान्जिट भएर नेपाल एयरलाइन्स इजरालयको तेलअबिब जान लागेको छ।
‘इजरायलका नेपाली लिनका लागि नेपाल एयरलाइन्सको जहाज आज राति ११ बजे उड्छ,’ जोशीले भने।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बुधबार राति ११ बजे नेपाल एयरलाइन्सको सेड्युल फ्लाइट दुबईका लागि रहेको र त्यहीँबाट इजरायल जाने बताए।
‘नेपाल एयरलाइन्सको सेड्युल फ्लाइट राती ११ बजे छ। दुबईका यात्रु लिएर एयरलाइन्स जान्छ,’ उनले भने, ‘त्यहीँबाट जहाज इजरायल जाने तयारीमा छ। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले सम्बन्धित देशको आकाश प्रयोग गर्न अनुमति पाइसकेको छ।’
उनका अनुसार जहाजले इजरायलबाट नेपालीहरू लिएर दुबई आउनेछ। दुबईबाट काठमाडौँ फर्कने तयारी रहेको उनले जानकारी दिए।
नेपाल फर्कन चाहने नेपालीको लगत संकलन परराष्ट्र मन्त्रालयार्फत् भइरहेको छ। तर केकति जनालाई नेपाल फर्काइने भन्ने प्रष्ट भइसकेको छैन।
शनिबार (असोज २०) मा प्यालेष्टिनी विद्रोही समूह हमास इजरायलका विभिन्न स्थानमा रकेट सहित आक्रमण गर्दा १० नेपाली विद्यार्थीको मृत्यु हुनुको साथै ४ जना घाइते भएका थिए। यस्तै, विद्रोही समूहको आक्रमणबाट एक नेपाली बेपत्ता छन्।
सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययन गर्ने ४९ विद्यार्थी हमासले गरेको आक्रमण क्षेत्रमा फसेका थिए। जसमध्ये ३२ जनालाई इजरायली सेनाले उद्धार गरेर तेल अबिबमा राखेको छ।
उद्धारमा परेकाहरुले अझै युद्ध जारी रहेकोले नेपाल फर्काउन सहयोग मागिरहेका छन्।


