काठमाडौं- परराष्ट्रमन्त्री साउदले इजरायलले हस्तान्तरण नगर्दा इजरायलबाट नेपालीको शव ल्याउन नसकिएको बताएका छन्।
२५४ जना नेपालीलाई लिएर त्रिभुवन विमानस्थलमा ओर्लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
‘इजरायलमा दुवै पक्षका व्यक्तिहरूको मृत्यु भएको छ, विदेशीको पनि मृत्यु भएको छ,’ उनले भने, ‘त्यहाँ थुप्रैको मृत्यु भएको छ। शवहरूको विस्तृतविवरण तयार पारेर सबै पक्षको निर्क्योल गरेपछि हस्तान्तरण गर्ने जानकारी इजरायली पक्षले दिएको छ। हामीले उहाँहरूलाई छिटो हस्तान्तरण गर्न आग्रह गरेका छौँ।’
गत शनिबार गाजा क्षेत्रको हमास समूहले आक्रमण गर्दा इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको छ। एक जना सम्पर्कविहीन अवस्थामा छन्। चार जना घाइते भएकोमा दुई जना उपचाररत रहेको, एक घाइते नेपाल फर्किएको र एक घाइते अस्पतालबाट डिस्चार्ज भएको उनले जानकारी दिए।
उनले इजरायल सरकारले आफ्ना नागरिकसंगै नेपाल र अन्य विदेशी नागरिकलाई सुरक्षित राख्न आवश्यक प्रयास गरेको आफूले पाएको पनि उनले बताए।
उनले भने ‘इजरायल सरकार त्यहाँ भएका नेपाली र अरु विदेशीलाई सुरक्षित राख्न सतर्क र समर्पित पाएको छुु।’
अहिले २ सय ५४ जना आएको र आवश्यक परे तत्काल अन्य विमान पठाउने र अन्य नियमीत विमानबाट समेत फर्किन सक्ने वातावरण मिलाउन मन्त्रालयले गम्भीर भूमिका खेल्ने उनले बताए।
मन्त्रिपरिषद्ले व्यवसायिक फ्लाइटबाट आउनेहरुको टिकट खर्च व्यहार्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको भन्दै उनले भने, ‘अन्य जहाजहरु आवश्यकता अनुसार पठाइने छ, यसमा कुनै चिन्ताको विषय छैन। सरकार सगज छ, नेपाली दूतावासलाई निर्देशन गरिसकेको छ।’
आफूलाई भेट्न इजरायलका विमानमन्त्री आफैं विमानस्थल आएपनि आफू नपुग्दै फर्किनु परेको भन्दै पनि उनले सुनाए।


