नारायणगढ- चितवनको कालिका नगरपालिकाले आफ्नो पालिकाभित्रका झन्डै ८ सय घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ।
‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ती परिवारमा रहेका तीन हजार एक सय ७७ जनाको स्वास्थ्य बीमा गरिएको हो।
पालिकाभित्र रहेका विपन्न परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो।
यस कार्यक्रमका लागि पालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ। त्यसमध्ये अहिलेसम्म रु २८ लाख ४३ हजार तीन सय बराबरको बीमा भइसकेको छ।
नगरप्रमुख विनोद रेग्मीका अनुसार विपन्न परिवारलाई पालिकाले बीमा गरिदिएको हो।
‘चेपाङ समुदायको प्रदेश सरकारले बीमा गरिरहेकाले सो समुदायबाहेक अन्य समुदायका विपन्न परिवारको बीमा नगरपालिकाले आफ्नै बजेटमार्फत गरेको हो,’ उनले भने।
अहिले बीमा भएका परिवारको आगामी मङ्सिर १ गतेदेखि लागू हुनेछ।
विपन्न परिवारले उपचारका लागि आर्थिक सहयोग माग्नु नपरोस् भन्ने उद्देश्यका साथ बीमा कार्यक्रम गरिएको हो।
‘विपन्न परिवारका लागि पनि स्थानीय सरकार भएको अनुभूति हुने गरी काम गर्दै आएका छौँ,’ उनले भने।
नगरपालिकाभित्र स्वास्थ्य उपचारका लागि कोही पनि बञ्चित हुन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको उनको भनाइ छ।
स्वस्थ नगरपालिका निर्माणका लागि यो कार्यक्रम प्रभावकारी बन्ने उनको भनाइ छ।
पालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका लागि यसअघि नै घरघर पुगेर नियमित स्वास्थ्य परीक्षण गर्दै आएको छ।
पालिकाभित्र रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएकाको प्रत्येक दुई महिनामा घरमा नै गएर स्वास्थ्य परीक्षण गर्ने गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए।


