काठमाडौँ- मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परी गम्भीर घाइते भएका पाइलट प्रकाश सेढाईंलाई भारत लैजाने तयारी थालिएको छ।
९ एन-एएनजे कलसाइन भएको हेलिकोप्टर दुर्घटनामा परी घाइते भएका उनलाई उपचार गरिरहेको ह्याम्स अस्पतालले भारत लैजाने तयारी गरिएको जानकारी दिएको हो।
उनलाई शनिबारै विमानमार्फत् थप उपचारका लागि भारतको मुम्बई नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको हो।
अस्पतालका अनुसार उनको मुखको भाग, हातखुट्टा लगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको अवस्था छ।
उनको फोक्सो, मेरूदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको अस्पतालले जानकारी दिएको छ।
शनिबार बिहान लुक्लाबाट लोबुचे (सोलुखुम्बु) उडेको हेलिकप्टर दुर्घटनामा गम्भीर घाइते भएका थिए।
शनिबार बिहान ७ बजेर १३ मिनेटमा उडेको हेलिकप्टर दुर्घटना भएको थियो।



