काठमाडौँ- यसपालिको मनसुनका समयमा देशभर विपदजन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ। ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने १६८ घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुव खड्काका अनुसार मनसुन अवधिमा सबैभन्दा बढी पहिरोका घटना भएका छन्।
प्राधिकरणले सिंहदरबारमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाटका क्रममा उनले मनसुनका समयमा पहिरोका ४५९ घटना भएका थिए।
यस्तै, बाढीका १४२, भारी वर्षाका १६८ र चट्याङका १२३ घटना भएको जानकारी दिए।
यसपटक १३ दिन ढिला गरी मनसुन यही असोज २८ मा बाहिरिएको थियो भने एक दिन ढिला गरी गत जेठ ३१ मा भित्रिएको थियो।
भित्रिँदा पनि ९ दिन ढिला गरी असार ८ गते देशभर फैलिएको थियो। यसवर्ष मनसुन १२४ दिन रहेको थियो।
यसपटक मनसुनमा पूर्वानुमान गरेअनुसार नै कम वर्षा भए पनि ठाउँठाउँमा ठूलो क्षति हुनेगरी भारी वर्षासँगै बाढीपहिरो आएको थियो।


