काठमाडौं– नवरात्रको छैटौंदिनसम्म आईपुग्दा दशैंमा घर फर्किने मानिसहरुको संख्या ठूलो छ। उपत्यका छाड्नेको संख्या बढ्दै गएपछि काठमाडौं सुनसान हुँदैगएको छ।
काठमाडौं छाड्ने मानिसहरुको चाप बढेकाले दैनिक करिब ३ सय सवारी साधन उपत्यकाबाट बाहिरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ।
यात्रुको सहजताको लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र ट्राफिक प्रहरीले समन्वय गरिरहेको महासंघका केन्द्रीय उपाध्यक्ष सरोज सिटौलाले बताए।
सिटौलाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले, दशैं मनाउन घर फर्किन चाहने सबैका लागि टिकटको व्यवस्था गरेको बताए। यसवर्षको चाडपर्वमा टिकट र सवारी साधनको अभावमा कोही पनि यात्रु अलपत्र पर्न नपर्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ छ।
चाडपर्व विशेष समयमा नै टिकट सकिएपछि यात्रुहरू अलपत्र पर्ने र आफ्नो गन्तव्यसम्म पुग्न निकै सकस बेहोर्नुपरेको गुनासो आईरहेका बेला उनले यो वर्ष त्यो समस्या नहुने दावी गरे।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले दशैं, तिहार, छठ लगायतका पर्व नजिकिँदै जाँदा प्रहरीले देशैभरको सुरक्षा व्यवस्था कडा गर्न लागेको बताए।
देशैभर हुने विविध आपराधीक गतिविधिलाई मध्यनजर गरी त्यसलाई न्यूनिकरण गर्न तथा सुरक्षा प्रदान गर्नका लागि लक्षित गरी सुरक्षा योजना ल्याएर कार्यान्वयन गरिरहेको उनको भनाइ छ।
सुरक्षा योजना अन्र्तगत मुख्यगरी नागरिकको सुरक्षा गरी चाडपर्वको बेला हुने आवतजावतलाई सुरक्षीत बनाउने, बैंक तथा वित्तिय संस्थाको कारोवार सुरक्षीत पार्ने तथा कालोबजारी र बजारमा देखिने कृतिम अभावलाई न्यूनिकरण र नियन्त्रण गर्न सहयोग गर्ने लगायतका रहेको उनले जानकारी दिए।
चाडबाडमा आम नागरिकको सुरक्षाका लागि ५० हजार ५ सय ३० जना सुरक्षाकर्मी फिल्डमा खट्ने उनले जानकारी दिए।


