काठमाडौं- चीनको हाङझावमा जारी चौथो एसियाली पारा खेलकुदअन्तर्गत टेबलटेनिसमा आइतबार नेपाली खेलाडी पराजित भएका छन्।
२ पुरुष र १ महिला गरी ३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा तीनै खेलाडी पराजित भएका हुन्। तीनै खेलाडी समान ३–० को नतिजामा चीनका खेलाडीसंग पराजित भए। जीएसपी जिम्न्याजियमा भएको पुरुष सिंगल्स क्लास ४ को समूह ‘एफ’ को खेलमा चिङयुवान गुओले नेपालका डिगमसिंह चेम्जोङलाई ११–७, ११–५ र ११–३ को सोझो सेटमा पराजित गरे। पुरुष सिंगल्स क्लास ३ को समूह ‘सी’ मा चिङ झाइले नेपालका केशव थापालाई सीधा सेटमा ११–८, ११–८ र ११–४ ले हराए। महिला सिंगल्स क्लास ४ को समूह ‘डी’ मा चियाडन गुले नेपालकी लाली तामाङलाई ११–३, ११–४ र ११–५ को सोझो सेटमा पन्छाइन्।
नेपाली खेलाडीले शुक्रबार विभिन्न ४ खेलमा प्रतिस्पर्धा गर्ने छन्। नेपालले आर्चरी, ब्याडमिन्टन, पावर लिफ्टिङ र टेबलटेनिसमा प्रतिस्पर्धा गर्ने छ।
प्रकाशित: २०८० कार्तिक ५ गते आईतबार ०८:२३