गण्डकी- मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बाढी प्रभावितलाई राहत जुट्ने क्रम जारी छ। गत साउन २८ गते कागखोलामा आएको बाढीबाट जायजेथा गुमाएकाको पुनःस्थापनाका लागि स्वतस्र्फूत सहयोग उठिरहेको हो।
कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक फेन्चोक छेप्तेन गुरुङका अनुसार जनस्तरबाट हालसम्म करिब ८० लाख सङ्कलन भएको छ। ‘देशविदेशमा रहनुभएका मुस्ताङवासीबाट सहयोग आउने क्रम जारी छ, स्थानीय सङ्घसंस्था पनि राहत अभियानमा जोडिएका छन्,’ उनले भने, ‘स्थानीय तह, प्रदेश सरकारलगायत सरकारी निकायबाट पनि राहत प्राप्त भएको छ।’
सहयोगदाताबाट आएको रकम उद्धार र राहतमा खर्च भइरहेको संयोजक गुरुङले बताए। बाढीबाट पूर्णरुपमा घर क्षति भएका नौ परिवारका लागि कागबेनी नजिकै एक्लेभट्टीमा अस्थायी बास निर्माण थालिएको उनको भनाइ छ। ‘बाढी आउँनासाथ सरकारी संयन्त्रदेखि स्थानीयवासी सबै उद्धार र राहतमा खटिए,’ संयोजक गुरुङले भने, ‘प्रधानमन्त्री तहबाटै कागबेनीको पुनःनिर्माणमा प्रतिबद्धता पनि आइसकेको छ।’
बाढीबाट सामान्य क्षति भएका घरको मर्मतसम्भार स्थानीय आफै पनि गरिरहेको उनले बताए। बाढी पसेको ठाउँको सफाइदेखि कागखोलालाई पुरानै धारमा फर्काउने काम भइसकेको छ। ‘तीन वटै तहका सरकारको तदारुकता र स्रोतसाधनको प्रबन्ध हुन सकेमा तीन/चार वर्षभित्रैमा कागबेनीलाई पहिलेकै अवस्थामा फर्काउन सकिन्छ,’ उनले भने, ‘धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्र भएकाले कागबेनीको पुनःनिर्माणमा राज्यले विशेष ध्यान दिनुपर्छ।’
गृहमन्त्री, मुख्यमन्त्रीलगायतले बस्ती पुनःनिर्माण र बाढीप्रभावितको राहतमा कुनै कमी हुन नदिने बताएकाले आफूहरु आशावादी रहेको स्थानीय कर्मा गुरुङले बताए। बाढीमा घरबास गुमाउनुभएकी गुरुङ अहिले सपरिवार आफन्तकोमा आश्रम लिइरहेका छन्। ‘घरगोठ, जग्गा सबै बाढीले लग्यो, अब आफ्नो भन्ने केही पनि छैन,’ उनले भने, ‘सरकारले हाम्रो दुःख देखोस्, बाढी प्रभावितलाई केही व्यवस्था होस्।’ कागखोलामा आएको बाढीबाट घर, मन्दिर, धर्मशाला, गुम्बा, सडक, पुललगायत भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो ।


