काठमाडौँ- जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुले आफैं अस्थायी आवास बनाए पनि सरकारले दिने ५० हजार रुपैयाँ पाउने भएका छन्। आफैं अस्थायी आवास बनाउने प्रभावितले पनि सरकारले उपलब्ध गराउने रकम पाउने गरी निर्णय भएको उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए। सोही अनुसार कार्यविधिसमेत भएको उनले उल्लेख गरे।
वडाको सिफारिसमा प्रभावितले यो रकम पाउन सक्ने उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले बिहीबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा जानकारी गराएका हुन् ।
छलफलमा समिति सभापति दिलकुमारी रावल थापा (पार्वती)ले स्थलगत अनुगमनका क्रममा आफैं अस्थायी आवास बनाउनेहरु अन्योलमा रहेको पाइएको बताएकी थिइन्।
‘घरका सदस्यहरु भएकाहरुको हकमा आफैंअस्थायी आवास बनाएका छन् । तर, सरकारी सहयोग पाउने के हुने भन्नेमा अन्योलता रहेको पाइएको थियो’, उनले छलफलमा भनिन्।
गृहमन्त्रालयका सचिव दिनेश भट्टराईका अनुसार जाजरकोटमा ९ हजार ७९४ घरमा पूर्ण क्षति भएको छ भने २४ हजार घरमा आंशिक क्षति भएको छ। रुकुम पश्चिममा १६ हजार ५७० घरमा आंशिक क्षति भएको छ भने ९ हजार ९६१ घरमा आंशिक क्षति भएको छ। रुकुमपश्चिममा १६ वटा सार्वजनिक भवनमा पूर्ण क्षति भएको छ भने २१ वटा भवनमा आंशिक क्षति पुगेको छ।


