काठमाडौँ- सरकारले हड्ताल गर्न नपाइने क्षेत्रहरू तोकेको छ। राजपत्रमा सूचना प्रकाशन गर्दै हड्ताल निषेधित क्षेत्रको सूची सार्वजनिक गरिएको हो।
गृह मन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन २०१४ अनुसार हडताल निषेधित क्षेत्र तय गरिएको जनाएको छ।
डाँक तार टेलिफोन सेवा, जल/स्थल वा हवाइमार्ग यातायात सेवा, हवाई अड्डा वा हवाइजहाजको देखभाल, त्यसको सञ्चालन र मर्ममत गर्ने कामसँग सम्बन्धित सेवामा हड्ताल गर्न नपाइने राजपत्रमा उल्लेख छ।
यस्तै सञ्चार, छापाखानासम्बन्धी सेवा, पर्यटन अवास, मोटेल, होटेल रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा, आन्तरिक सुरक्षा, हतियार खरखजना वा अरू कुनै सैनिक सरसामान उत्पादन र वितरणसम्बन्धी कामका क्षेत्रमा पनि हड्ताल गर्न नपाइने जनाएको छ।





