काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन्।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा न्यायाधीश पदमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।
सर्वोच्चमा न्यायाधीश नियुक्त हुनेमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुङ्गाना न्यायाधीश छन्। यसअघि उनीहरू चारै जना उच्च अदालतका न्यायाधीश हुन्।
यस्तै कानुन व्यवसायीबाट सर्वोच्चको न्यायाधीशमा नियुक्ति हुनेमा सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल छन्।

यसअघि संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेको थियो। समितिको बुधबार बसेको बैठकले न्यायाधीशमा सिफारिस भएकाहरूको नाम अनुमोदन गरेको हो।
न्यायपरिषदले गत मंसिर ५ गते सर्वोच्च अदालतका ६ जना न्यायाधीश सिफारिस गरेको थियो।
सर्वोच्च अदालतमा ७ जना न्यायाधीशको पद रिक्त भएपनि भागबन्डा नमिल्दा माओवादीको भागमा परेको स्थान खाली राखेर ६ जनाको नाम सिफारिस भएको थियो। सर्वोच्चमा सिफारि पोखरेल कांग्रेस निकट मानिन्छन् भने ढकाल एमाले निकट हुन्।


