काठमाडौँ- रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाका लागि आवेदन दिन नपाएपछि आक्रोशित युवाले गरेको प्रदर्शनलाई नियन्त्रण लिन प्रहरीले गोली चलाउँदा दुई युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ वर्षीय वीरेन्द्र शाह र २३ वर्षीय सुजन राउत छन्।
बालकुमारीमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका राउतको उपचारका क्रममा किस्ट अस्पतालमा मृत्यु भएको थियो। भक्तपुर बस्दै आएका राउत बालकुमारी क्षेत्रको सडकमै लडिरहेको अवस्थामा फेला परेका थिए। पछि उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
बालकुमारीमा प्रहरीको गोली लागेर एक युवाको मृत्यु, एक गम्भीर घाइते
शुक्रबार दिउँसो करिब पौने २ बजेतिर राउको मृत्यु भएको हो। यस्तै घटनामा परी गम्भीर घाइते भएका २२ वर्षीय वीरेन्द्र शाहको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी गरेपछि प्रहरीले गोली प्रहार गरेको थियो। बा २ झ ५८६१ नम्बरको गाडीमा शुक्रबार इपिएस परीक्षार्थीले आगजनी गरेका थिए। सो क्रममा बालकुमारी-ग्वार्को क्षेत्रमा शुक्रबार दिउँसो झडपसमेत भएको थियो।
पानी जहाज बनाउने कम्पनीका लागि परीक्षा फारम भरेका युवाले अन्य क्षेत्रका लागि परीक्षा दिन नमिल्ने ईपीएस कार्यालयले जनाएको थियो। पानीजहाज सम्बन्धी कम्पनीमा परीक्षा दिएका तर अनुत्तीर्ण भएकाले फारम भर्न नपाउने निर्णयविरुद्ध युवाहरु अदालत गएका थिए।
अदालतले उत्पादनमूलक तथा कृषि क्षेत्रमा हुने परीक्षा पनि उनीहरुलाई सहभागी गराउन अदालतले आदेश दिएको थियो। तर ईपीएस कार्यालयले अदालतमा रिट दायर गर्नेलाई मात्रै आवेदन दिन आह्वान गरेको थियो। यसपछि अरु विद्यार्थीले आक्रोशित बनेका थिए।
ईपीएसको फारम भर्न गएका युवाले मन्त्रीको गाडीमा आगो लगाए [९ तस्बिर]


