काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वन्यायाधीशसँग दुखेसो व्यक्त गरेका छन्। पूर्वन्यायाधीशसँग प्रचण्डले समाजिक सद्भावलगायतका विषयमा गलत प्रचार गरिएको भन्दै दुखेसो व्यक्त गरेका हुन्।
बिहीवार प्रधानमन्त्री निवास वालुवाटारमा पूर्वन्यायाधीश समाजका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले गुनासो गरेका हुन्।
पूर्वन्यायाधीश समाजका अध्यक्ष टोपबहादुर सिंहसहितका पूर्वन्यायधीशहरुसँगको छलफलमा प्रधानमन्त्रीले केही व्यक्ति समाजिक सद्भाव बिगार्न र राम्रो कामलाई पनि नराम्रो भन्दै प्रचार गर्न लागिपरेको भन्दै दुखेसो व्यक्त गरेका थिए। संविधान र कानूनको पालना गर्न लगाउन पूर्वन्यायाधिशहरुको भूमिकासमेत महत्वपूर्ण रहने भन्दै उनले सहयोगको अपेक्षा पनि गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
‘पूर्वन्यायाधीशहरुले विगतमा संविधान र कानूनमाथि आक्रमण हुँदा आवाज उठाउनु भएको छ। आगामी दिनमा पनि राज्यका विभिन्न अंग र निकायले गर्ने काममा संविधान र कानूनको पालना भए नभएकोबारे निरन्तर निगरानी गरिरहनु पर्नेछ,’ दाहालले पूर्वन्यायाधीशहरूसँग भने, ‘राज्यका जिम्मेवार पदमा बसेका व्यक्तिहरुले भिड हेरेर वा सामाजिक सञ्जालका धारणा हेरेर निर्णय गर्न हुँदैन। संविधान र कानूनको पूर्ण पालना गरेर त्यसका आधारमा मात्र निर्णय गर्नुपर्छ।’
प्रधानमन्त्रीसँगको छलफलमा पूर्वन्यायाधीशहरुले राज्यको कार्यकारी प्रमुखका नाताले प्रधानमन्त्रीले अहिलेको व्यवस्था सुदृढ गर्न तथा संविधान र कानूनको पालना गराउन भूमिका खेल्नुपर्ने सुझाव राखेका थिए।


