काठमाडौँ- श्री एयरलाइन्सले चीनको तिब्बतस्थित कैलाश पर्वत तथा मानसरोवर दर्शन गराउनका लागि पर्वतीय उडान सुरु गरेको छ। सोमबार नेपालगन्ज विमानस्थलबाट श्री एयरलाइन्सले कैलाश तथा मानसरोवर दर्शन गराएको हो।
नेपाल भूभागबाट यसरी कैलाशका लागि पर्वतीय उडान गरिएको यो पहिलो पटक भएको एयरलाइन्सको भनाइ छ।
टेमुप ट्रिप ग्रुप इन्डिया, सिद्धार्थ हस्पिटालिटी ग्रुप नेपालगन्ज र पठिल होलिडेज् काठमाडौँसँगको सहकार्यमा कैलाश तथा मानसरोवर दर्शन पर्वतीय उडान गरिएको श्री एयरलाइन्सले जनाएको छ ।
सोमबारको उडानमा ४४ जना यात्रु र चालक दल ५ जना सदस्य सहभागी भएको श्रीका प्रबन्धक अनिल मानन्धरले जानकारी दिए।
नेपालगञ्जबाट कैलाश तथा मानसरोवर दर्शन गराउँदै काठमाडौँ ल्याई पशुपतिनाथसमेत दर्शन गराउने योजना बनाइएको एयरलाइन्सको भनाइ छ।


