काठमाडौं– नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको टोलीले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेको छ। मंगलबार भएको भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले नेपालमा माल बाहक भारतीय ट्रक निर्बाधरुपमा ७२ घण्टासम्म नेपाल प्रवेश गर्न सक्ने व्यवस्थाबाट नेपालमा अटोमोबाइल क्षेत्रमा समस्या पैदा भएको बताए।
उनले भारतीय ट्रक निर्वाध प्रवेश गर्न पाउने व्यवस्थाले नेपालमा मालवाहक सवारी साधनको विक्री र व्यवसायमा गम्भिर असर परेको भन्दै भारतीय मालवाहक साधनहरुलाई नेपालमा २४ घण्टाको मात्र समयावधि दिने र भन्सार बिन्दुबाट अधिकतम १६ किमी सम्म मात्र सन्चालन गर्न दिने व्यवस्थाका लागि आग्रह गरे।
नाडाका महासचिव सुरेन्द्र कुमार उपे्रतीले नेपाल भारतविच खुल्ला सीमानाकोे कारणले भारतबाट भारी मात्रामा अनधिकृत रुपमा लुव्रिकेण्टस, टायर तथा अटोमोवाइल स्पेयर पाट्र्सको आयात हुदै आएको बताए।
यसले एकातर्फ नेपालका लुव्रिकेण्टस र टायरटयूव उद्योगहरुलाई गम्भिर असर परिरहेको छ भने अर्कोतर्फ ती बस्तुहरुको अनधिकृत आयातका कारण नेपालमा बसेर आधिकारिक व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरु आफनो व्यवसायमा टिकीरहन कठीन हुँदै गएको बताए। उनले नेपालको सीमा क्षेत्रमा कडाईका साथै व्यवस्थित पनि गर्नु पर्ने देखिएको भन्दै यस्तो हुन सकेमा देशले गुमाई रहेको ठूलो राजश्व पनि प्राप्त हुने भएकोले यसतर्फ आवश्यक पहलका लागि अनुरोध गर्नु गरे।
गृहमन्त्री श्रेष्ठले पहिलेको २४ घण्टाको समयावधीलाई ७२ घण्टा पुर्याइएको र सीमा नाकामा भइरहेको समस्याबारे चासो राख्दै यस्ता समस्याहरुको समाधानका लागि सरकारले आवश्यक पहल गर्ने बताए।
छलफलमा नाडाका संस्थागत उपाध्यक्ष पुष्कर ओझा, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, कार्य समिति सदस्यद्वय ऋद्धि कार्की, नारायणप्रसाद पौडेल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो।


