काठमाडौँ- बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा निजी बनाएको अभियोगमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जना हिरासतमुक्त भएका छन्। बुधबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट तीनै जना आरोपितहरू पक्राउ गरेका हुन्।
मंगलवार काठमाडौं जिल्ला अदालतले दुई दिनभित्र अनुसन्धान सकेर वा अनुसन्धान नसकिए पनि हिरासतमुक्त गर्न आदेश दिएको थियो। तीनै जना हाजिरी जमानीमा रिहा भएका हुन्।
रिहा भएपनि उनीहरूमाथि अुनसन्धान जारी रहेन सीआईबीले जानकारी दिएको छ।
यो प्रकरणमा चौधरीसँगै कारखानाका तत्कालीन प्रमुख अजितनारायणसिंह थापा र सीजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुर बिहीबार पक्राउ परेका थिए।
यसअघि चौधरीसहितलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो।
प्रहरीले भने उनीहरूलाई २५ दिन हिरासतमा राखी अनुसन्धान गर्ने पाउनुपर्ने माग गरेको थियो। सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासमा भएको म्याद थपको सुनुवाइका क्रममा प्रहरी/जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले उनीमाथिको अनुसन्धान नसकिएकोले म्याद थपका लागि आदेश माग गरेको थियो।
उक्त माग विरुद्ध चौधरीलगायतका पक्षमा वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, सतीशकृष्ण खरेल, कृष्ण सापकोटा, रमण कुमार श्रेष्ठ र गोपाल कृष्ण घिमिरे तथा अधिवक्ताहरु राम घिमिरे, तिल प्रसाद गौतम, मोहना अन्सारी र रमण कुमार कर्णले बहस गरेका थिए। चौधरीलगायतलाई हिरासतमा राख्न नपर्ने उनीहरूको जिकिर थियो।
यी हुन् अनुसन्धानका विषय
(१) तत्कालीन बाँसवारी छाला जुत्ता कारखाना लिमिटेडको संचालक समितिका पदाधिकारीको विवरण प्राप्त गरी निजहरु उपर अनुसन्धान गर्नु पर्ने।
(२) तत्कालीन च्याम्पियन फुटवेयर लिमिटेडको शेयर होल्डरहरु उपर अनुसन्धान गर्नु पर्ने।
(३) तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडबाट मालपोत कार्यालयमा खटिएका कर्मचारी उपर अनुसन्धान गर्नु पर्ने।
(४) १० रोपनी जग्गाको हक हस्तान्तरण गर्ने निर्णयमा संलग्न रहेका मालपोत कार्यालयको कर्मचारीहरुको विवरण प्राप्त गरी अनुसन्धान गर्नु पर्ने।
(५) पत्राचार गरिएका विभिन्न निकायहरुवाट (मालपोत कार्यालय, महालेखा परिक्षकको कार्यालय, उद्योग मन्त्रालय, भुमी व्यवस्था मन्त्रालय, अर्थ मन्त्रालय समेत) जवाफ प्राप्त गर्नु पर्ने।
(६) जग्गाको मुल्य खुलाई मिसिल संलग्न गर्नु पर्ने।
(७) तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडमा कार्यरत रहेका कर्मचारीहरुको घटना विवरण कागज गर्ने।
(८) तत्कालीन बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडलाई जग्गा दिने (अधिग्रहण) स्थानीय बासिन्दाहरु बुझी कागज गर्न पर्ने।
(९) मिति २०३७।७।२० को निर्णय अनुसार का.न.पा. वडा नं.२२ (छ) कि.नं.४५,४६,४७,४८,४९ र ५० को जम्मा क्षेत्रफल ९५-६-१-० जग्गा बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका नाउँमा अधिग्रहण भै प्रमाणित उल्लेख भएकोमा अधिकरण भन्ने शब्दलाई काटीएको देखिन आएको सो सम्वन्धमा अनुसन्धान गर्नु पर्ने।




