अबुधाबी- मुस्लिम बहुल अरबी राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबुधाबीमा मन्दिर स्थापना भएको छ।
करिब ११ हेक्टर जग्गामा ७ अर्ब भारु खर्च गरेर मन्दिर बनाइएको बीबीसीले उल्लेख गरेको छ। मन्दिर १०८ फिट अग्लो र १८० फिट चौडा छ।
यो मन्दिरको निर्माण बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था अर्थात् बीएपीएसले गरेको हो। मन्दिर बनाउन जग्गा भने यूएई सरकारले दिएको थियो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार मन्दिरको उद्घाटन गरे। सन् २०१८ मा युएई भ्रमणका बेला प्रधानमन्त्री मोदीले मन्दिर बनाउने उद्घोष गरेका थिए।
प्यु रिसर्च सेन्टरका अनुसार युएईमा झन्डै ६ लाख ६० हजार हिन्दूहरूको बसोबास छ। भारतीय परम्परागत प्रविधिमा आधारित भएर यसरी निर्माण गरिएको मन्दिरमा यो नै पहिलो भएको दाबी गरिएको छ।
मन्दिर निर्माणमा सिंगमरमर, ढुंगा र चुना प्रयोग गरिएको छ। मन्दिरका सात स्तम्भलाई यूएईका सात राज्यका प्रतीकको रुपमा लिइएको छ ।
बीएपीएसले यो मन्दिर सदभावको प्रतीक भएको र सबै धर्म मान्नेहरुका लागि खुला गरिएको जनाएको छ ।
मन्दिरमा आगन्तुक कक्ष, प्रार्थना कक्ष, प्रदर्शनी हल, सिकाइ कक्ष, बच्चा र युवाहरुका लागि खेल्ने स्थान लगायत सुविधा पनि छन्। साथै विभिन्न थिममा आधारित उद्यान, वाटर फिचर्स, फुड कोर्ट र पुस्तक तथा उपहार किन्न पाइने पसल पनि छन्।


