काठमाडौं- वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा नेपाली टोली पराजित भएको छ।
साउदी अरबको जेद्दाहमा बिहीबार सम्पन्न फाइनलमा नेपाललाई टाइब्रेकरमा पराजित गर्दै जोर्डन छैटौं पटक उपाधि जित्न सफल भएको हो।
निर्धारित ९० मिनेटको खेल २-२ को बराबरीमा सकिएपछि जोर्डन टाइब्रेकरमा ५-३ ले विजयी भएको हो।
आमन्त्रित टोलीको रुपमा वाफ खेल्न पुगेको नेपाल पहिलो सहभागितामा उपविजेता बनेको हो।
पहिलो हाफमा सविता राना मगरको १-० को अग्रता लिएको नेपाल दोस्रो हाफमा गोल खाएपछि २-१ को स्थितिमा थियो। तर इन्ज्युरी समयमा प्राप्त पेनाल्टीमा गीता रानाले गोल गरेपछि खेल २-२ को बराबरीमा पुगेको हो।
त्यसपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो।


