रोल्पा समेन्ट उद्योग प्रालिको विद्युत लाइन काटिएको छ। उद्योगले विद्युत महसुलबापत ८ करोड ४४ लाख ६९७ बक्यौता बुझाउन बाँकी रहेको भन्दै विद्युत् लाइन काटेको हो।
रोल्पाको त्रिवेणी गाउँपालिका–३ बुढागाउँमा सञ्चालित उद्योगले बक्यौता नबुझाएपछि लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण विद्युत वितरण केन्द्र रोल्पाले जनाएको छ।
‘पटक–पटक ताकेता गर्दा पनि अटेर गरी महसुल नबुझाएपछि आइतबार लाइन काट्न बाध्य भयौँ,’ वितरण केन्द्रका प्रमुख आशेश्वर साहले भने।
सिमेन्ट उद्यागेले २०७० साल यता महशुल नबुझाएको रोल्पा वितरण केन्द्रले जनाएको छ। बक्यौता नतिरेसम्म लाइन पुनः जडान नहुने उनको भनाइ छ। रोल्पा सिमेन्ट प्रालि रोल्पामा सञ्चालित सबैभन्दा ठूलो उद्योग हो।



