काठमाडौँ- कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहालले सबैलाई धोका दिँदै हिँडेको आरोप लगाएका छन्। अब धोका दिन बाँकी कुनै पनि दल नरहेको उल्लेख गर्दै उनले धोका खाएकाहरू मिले भने आफ्नो हालत के होला भन्ने हेक्का राख्न चेतावनीसमेत दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै लेखकले दाहालकै चरित्र चित्रण गर्दै आगामी दिनको सम्भावनाबारे उल्लेख गरे।
‘हेक्का राख्नुहोस् ! तपाईंले धोका दिएकाहरू सबै एकजुट भए तपाईंको हालत के होला?’उनले १४ महिनामा तीनपटक फेरबदल भएको उल्लेख गर्दै उनले सबैलाई धोका दिएको बताए।
दाहालले गठबन्धन फेरबदल गरेर जनमतको अपमान उनको आरोप छ। ‘जनताले दिएको आफ्नो जिम्मेवारीबाट भाग्ने काम भयो । यो राजनीतिक बेइमानी हो । मुलुकलाई श्रृखलाबाद्ध अस्थिरतातर्फ लैजाने काम भयो ।’
उनले गठबन्धनप्रति सदाशयता र इमानदारिता देखाउँदा देखाउँदै पनि गठबन्धन भत्काउने विश्वासघात भएको उल्लेख गरे।


