काठमाडौँ- सुन तस्करीमा संलग्न रहेका कतिपय व्यक्तिलाई जोगाउन र तस्करहरूलाई भगाउन सीआईबी प्रमुख किरण वज्राचार्य नै संलग्न रहेको आरोप लागेको छ।
पदको दुरुपयोग गर्दै विभिन्न व्यक्तिमाथिको अनुसन्धान कमजोर बनाउने र तस्कर जोगाउने भूमिका खेलेको भन्दै सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले वज्राचार्यलाई कारवाही सिफारिस गरेको हो।
अनुसन्धान गर्ने ठाउँमा बसेर तस्करीमा संलग्न व्यक्तिलाई जोगाउन भूमिका खेलेकाले विभागीय कारबाही गर्न आयोगले सिफारिस गरेको छ। गृहमन्त्री रवि लामिछानेले प्रतिवेदन अध्ययन गरेपछि प्रधानमन्त्रीलाई जानकारी दिएर उनीमाथि विभागीय कारबाही अघि बढाउन लागेका छन्।
सुन तस्करीमा संलग्न जीवन चलाउने भन्ने व्यक्तिको बयान नै च्यातेर उनलाई फरार बनाउन भूमिका खेलेको आरोप एआईजी बज्राचार्यमाथि छ। सुन तस्करी अनुसन्धानमा सीआईबीको भूमिकामा प्रश्न उठाउँदै तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालेले छानबिन आयोग गठनको लागि सदन अवरोध गरेर दबाब दिएको थियो।
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले गरेको अनुसन्धानका क्रममा ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीले गम्भीर लापरबाही गरेको उल्लेख गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताएका छन्।
सुन तस्करी नाइके दावा छिरिङसँग सम्बन्ध देखिएका जीवन चलाउने र चलाउनेसँग सम्बन्ध देखिएका पूर्वप्रहरी प्रमुखहरूलाई जोगाउन सीआईबीका अधिकारीहरूले प्रमाण नष्ट गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
दावासँग वर्तमान अर्थमन्त्री वर्षमान पुनको निकट सम्बन्ध रहेको विषयहरू सार्वजनिक भइरहेका छन्।


