काठमाडौँ- नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ। शुक्रबार प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले गृहमन्त्री लामिछानेको राजीनामा माग गरेका हुन्।
लामिछाने प्रश्न र अनुसन्धानको घेरामा रहेको उल्लेख गर्दै सांसद पौडेलले राजीनामा माग गरेका हुन्।
शुक्रबार बैठक सुरु भएलगत्तै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए। यसपछि सभामुख देवराज घिमिरेले दिएको समयमा बोल्दै पौडेलले गृहमन्त्रीको राजीनामा माग गरेका हुन्। ‘म आग्रह गर्न चाहन्छु मेरा माननीय मित्र गृहमन्त्रीज्युलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस्,’ उनले भनेका थिए।
अनुसन्धानमा रहेको घेरामा रहेका व्यक्तिले अनुसन्धानकै नेतृत्व गर्ने थलोको जिम्मेवारी दिनु उचित नहुने उनको भनाइ छ।
‘आफूमाथि प्रश्न बोकेर उहाँ गृहमन्त्री हुनुहुँदैनथ्यो। प्रधानमन्त्रीले प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउन हुँदैनथ्यो,’ उनले भने, ‘अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा हुँदा सहकारी पीडितको माग कसरी पूरा हुन्छ ? पीडितहरुको विश्वास जित्न नसकेको सरकारले कसरी वित्तीय संकटलाई समाधान गर्न सक्छ?’
३१ हजार सहकारीमा ७३ लाख बचतकर्ता रहेको र ती बचतकर्ताले सहकारी संचालकको बचतबाट आफूहरुको बचत फिर्ता दिलाउन माग गरिरहेको भनी यसमा सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।
उनले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रश्नको सामना गर्नुको साटो भागेर हिँडेको पनि आरोप लगाए। ‘प्रधानमन्त्रीको यस विषयमा डबल स्ट्यान्डर्ड देखियो,’ उनको भनाइ छ।
उता उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूलाई सहकारी प्रकरणसँग जोडेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद्मा उठाएका प्रश्नबारे आफ्नो ध्यानाकर्षण भएको बताएका छन्। सभामुखबाट रुलिङ भएको खण्डमा आफूले संसद्मा उभिएर जवाफ दिने उनको भनाइ छ।


