पोखरा- नेपाली कांग्रेससंगको गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रले नेकपा एमालेसहितका दलसंग नया गठबन्धन बनाएपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा देखिएको संकट टर्ने सम्भाबना बढेको छ।
मनाङबाट निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ)ले आफूलाई स्वतन्त्र सांसदको रुपमा अभिलेख कायम गरिदिन प्रदेशको संसद सचिवालयमा निवेदन दिनु र माओवादी केन्द्रको चिन्हबाट सांसद बनेका गोरखाका फणीन्द्र देवकोटासमेत एमाले-माओवादी गठबन्धनमा जाने सम्भावना नदेखिएकाले गण्डकी प्रदेशमा विद्यमान राजनीतिक संकट टार्ने प्रयास काङ्ग्रेसले गरिरहेको पुष्टि गर्छ।
राप्रपाले पनि कम्युनिस्ट भन्दा काङ्ग्रेससंगकै गठबन्धन स्वाभाविक हुने विश्लेषण गरिरहेको बेला मनाङे र देवकोटाको कदमले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारले निरन्तरता पाउने सम्भावना बढेको देखिएको छ।
मनाङबाट स्वतन्त्र निर्वाचित सांसद मनाङे स्वतन्त्र रुपमा निर्वाचित भएको भएपनि केही महिना अगाडि उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए। तर आइतबार उनले आफूलाई स्वतन्त्र सांसदको रुपमा अभिलेख राख्न संसद सचिवालयमा निवेदन दिएका हुन्।
गण्डकी प्रदेशमा नेपाली कांग्रेसका २७ जना नेकपा एमालेका २२ जना नेकपा माओवादी केन्द्रका ८ जना राप्रपाका २ जना र स्वतन्त्र सांसद दिपक मनाङे गरी ६० जना सांसद छन्। कुनै पनि सरकारले बहुमत पुर्याउन ३१ जना सांसद चाहिन्छ। कांग्रेसका २७, राप्रपाका २ र मनाङे तथा देवकोटासमेत मिल्दा कांग्रेसको पक्षमा बहुमत जुट्ने सम्भावना छ।
पछिल्लो गठबन्धन बनेपछि एमाले माओवादीसँगै एकीकृत समाजवादी एकै ठाउँमा भएपनि राप्रपा वा मनाङे/देवकोटा बिना बहुमत पुग्ने देखिन्न। कांग्रेसका सुरेन्द्र पाण्डे नेतृत्वको सरकारलाई विश्वासको मत लिँदा ३१ मत पुग्न कठिन हुने अवस्था देखिएको थियो।
मनाङेले आफूलाई स्वतन्त्र सांसदको रूपमा अभिलेख कायम गर्न निवेदन दिएपछि गण्डकी प्रदेशको राजनीति नयाँ कोर्समा जाने देखिएको हो।
अब मुख्य मन्त्री पाण्डेले राप्रपाका दुई जना र बाबुराम भट्टराई नेतृत्वको पार्टीका एक जना सांसद देवकोटालाई आफ्नो समर्थनमा ल्याउन सकेमा वर्तमान सरकारले नै निरन्तरता पाउने र अर्को सरकारको सम्भावना वा चुनाबको सम्भावना समेत टर्ने देखिएको छ।
यसै क्रममा राप्रपाका सांसदहरु र गण्डकीका मुख्यमन्त्री पाण्डेका बीच विभिन्न चरणमा छलफल समेत भैसकेको बुझिएको छ। राप्रपाका सांसदहरुलाई आफ्नो पक्षमा पार्न नेकपा एमालेका नेता एवम् पूर्वमुख्यमन्त्री खगराज अधिकारि समेत प्रयासरत देखिन्छन।
अधिकारीले पोखरामा रहेका प्रधानमन्त्री प्रचण्डसंग राप्रपाका सांसदहरुलाई भेट्न लगाएर आफ्नो पक्षमा लाग्न आग्रह गरेका थिए।
बाबुराम भट्टराई नेतृत्वको पार्टीका सांसद देवकोटा यस अगाडिको निर्बाचनमा नेकपा माओवादी केन्द्रको चुनाब चिन्हबाट प्रदेश सांसद बनेको भएपनि बाबुरामले आफ्नो पार्टीको तर्फबाट संसदमा पुगेकाहरुको अभिलेख माओवादी केन्द्रबाट हटाएर छुट्टै बनाउनको लागि निर्बाचन आयोग र संसदीय दलमा समेत निबेदन दिइसकेको छन ।
यसैबीच बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको भएर पनि माओवादी केन्द्रको चुनाब चिन्हबाट सांसद बनेका फणिन्द्र देवकोटाले आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक सोमबार हुने र बैठकबाट हुने राजनीतिक निर्णय अनुसार अगाडि बढ्ने बताए।
´म नेपाल समाजवादी पार्टीको नेता र कार्यकर्ता समेत हो, संविधानले दिएको अधिकार प्रयोग गरेर म नेकपा माओवादी केन्द्रको चुनाब चिन्ह लिएर चुनाब लडेको भए पनि सम्बिधानत: नेपाल समाजवादी पार्टी छुट्टै पार्टी भएकोले माओवादी केन्द्रले गरेको निर्णयलाई नै मान्न मसहितका साथीहरु बाध्य छैनौं,’ उनले भने।
नेपाल समाजवादी पार्टी र माओवादी केन्द्रको बिचमा एकता भएको कुरा बाहिर आएको छ नि भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘केहि साथीहरु माओवादीमा जानुभएको सुनियो, तर पार्टीको अध्यक्ष बाबुराम भट्टराईसहितको केन्द्रीय समिति बसेर सोमबार नै मुलुकको राजनीतिक घटनाक्रमका बारेमा पार्टीको धारणा सार्बजनिक गर्ने छौं। मलाइ बिश्वास छ नया गठबन्धनमा गएर जनताले दिएको म्यान्डेटलाइ बेवास्ता गर्ने अनि राजनीतिक अस्थिरता बढाउने र ५ वर्ष नबित्दै चुनाब गर्नेतर्फ हाम्रो पार्टीले निर्णय गर्दैन।’
बिनाकारण केन्द्रमा गठबन्धन फेरिँदा देशमा अस्थिरता मौलाएको टिप्पणी देबकोटाले गरे। उनले भने, ‘गण्डकीमा त्यस किसिमको परिस्थिति सृजना हुन नदिन म प्रतिबद्ध छु।’
यसैगरी अर्का सांसद मनाङेले पनि केन्द्रको गठबन्धनले एमाले र माओवादीलाई गण्डकीमा बहुमत पुर्याउन सहज नहुने बताए। नयाँ गठबन्धनले पनि बहुमत नपुर्याउँदा प्रदेश मध्यावधिमा जान सक्ने भएकोले मध्यावधि रोक्न आफूले पहल गर्ने उनको भनाई छ।
‘केन्द्रको गठबन्धनले मौजुदा गण्डकी प्रदेश सभा विघटन हुने र मध्यावधिमा जान सक्ने खतरा देखिन्छ,’ मनाङेले भने, ‘म मध्यावधि चुनाव गरेर देशको ढुकुटी सक्ने कुराको विपक्षमा छु।’ मनाङेले कांग्रेसको सरकारलाई समर्थन गर्ने देखिएको छ।
नयाँ गठबन्धनले सरकार गठनको तयारी गरिरहेको बेला मनाङे र देवकोटाको कदमले गण्डकी प्रदेशको राजनीति नयाँ ढंगबाट अगाडि बढ्ने देखिएको छ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक ठगी गरेको नेसपाको निष्कर्ष
नेपाल समाजवादी पार्टी (नेसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजनीति ठगी गरेको निष्कर्ष निकाल्दै त्यस्ता कार्य नगर्न आग्रह गरेको छ। आइतबार केन्द्रीय कार्यकारिणी समितिको बैठकले देशका कार्यकारी प्रधानमन्त्रीबाट अध्यक्षलाई थाहै नदिई एकताको नाटक मञ्चन गर्नु राजनीति ठगी भएको निष्कर्ष निकालेको हो।
‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले देशका प्रधानमन्त्री हुनुहुन्छ। उहाँ सबैको नेता हो। कुनै गुट वा पार्टीको नेता होइन। त्यस्तो हाइ लेबलमा भएको मान्छे, एउटा कार्यकारी निकायमा भएका मान्छेले पार्टीका अध्यक्ष बाबुराम भट्टराईलाई कुनै जानकारी नदिई, कुनै संवाद नगरी, केही मान्छेसँग एकता गर्ने निर्णय गरे यो राजनीति ठगी हो। यो गैरराजनीति कार्य हो। यो अनैतिक कार्य हो। यस्तो खालको गैरराजनीति कार्य नगर्न बैठकले आग्रह गरेको छ’, बैठकपछि नेता कृष्णप्रसाद शर्माले भने।
प्रचण्डको यस्ता खालको क्रियाकलापले राजनीतिलाई झनै प्रदूषित बनाउने र बाहिर राम्रो सन्देश नजाने शर्माले बताए। प्रधानमन्त्री जस्तो व्यक्तिले राजनीति शुद्धीकरण गर्नुपर्नेमा छलछामको राजनीति गरेको उनले आरोप लगाए।


