काठमाडौँ- सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ फेरि अर्को आयोग गठन गरेको छ।
पूर्वन्यायाधीश तेजबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गर्ने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।
उच्च अदालतका पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा आयोग बनाइएको हो। आयोगमा पूर्व एआईजी पुष्कर कार्की र सञ्जीव मिश्र सदस्य छन्।
अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि तीन महिनाभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न आयोगलाई कार्यादेश छ।
सरकारले यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग बनाएको थियो।
गौरीबहादुर आयोगले ५ हजारभन्दा बढी मिटरब्याजसम्बन्धी लेनदेन टुंग्याएको थियो।
उक्त आयोगले सबै समस्या समाधान नगरेको ठहर गर्दै नयाँ आयोग बनाउने निर्णय भएको सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।
गौरी आयोगको प्रतिवेदनमाथि असन्तुष्टि राख्दै पीडितहरु पैदल हिँडेरै काठमाडौं आएका थिए।
उनीहरूसँग सहमति गर्दा सरकारले नयाँ आयोग बनाउने भनेको थियो।
सोही सहमति कार्यान्वयनका लागि गौरी आयोगका कामलाई थाती राख्दै तेजबहादुर आयोग बनाइएको हो।


