काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार इलाम-२ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्दैछ।
रास्वपाले दलबलसहित शनिबार दिउँसो १ बजे इलाम नगरपालिका- ७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्न लागेको हो।
रास्वपाले बिहीबार मात्रै इलाम-२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। उम्मेदवारी घोषणा सभालाई सभापति रवि लामिछाने र उपसभापति डा.स्वर्णिम वाग्ले, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, सह महामन्त्री कवीन्द्र बुर्लाकोटी, सह-प्रवक्ता रमेश प्रसाई, केन्द्रीय सदस्य तोसिमा कार्कीलगायतका नेताले सम्बोधन गर्ने छन्। आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका छ।
आगामी वैशाख १५, २०८१ मा इलाम–२ मा उपनिर्वाचन हुँदैछ। नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २५ गते राति हृदयघातका कारण निधन भएको थियो।
उनको निधन भएपछि रिक्त रहेको उक्त पदमा निर्वाचन हुन लागेको हो।


