भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनताले सरकारलाई तिर्नुपर्ने कर समयमै तिरी आफ्नो कर्तव्य पूरा गर्नुपर्ने धारणा राखेका छन्।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिको आयोजनामा आज भएको सम्मान कार्यक्रममा उनले जनताले राज्यलाई कर छल्ने वा कर ढिलो तिर्ने र नतिर्नेजस्ता कार्य गर्न नहुने बताएका छन्।
उनले राज्य वा आफू कार्यरत संस्थालाई नोक्सान हुने काम गर्नेलाई दण्ड जरिवानाको व्यवस्था गर्नुपर्ने बताउँदै देशकै सानो जिल्ला भक्तपुरलाई ‘टेष्टट्युव’का रूपमा विकास गर्न सकिने बताए। कार्यक्रममा भक्तपुर नगरपालिकामा ३० वर्ष सेवा पूरा गरेका १५ र सेवानिवृत्त आठ गरी २३ जना कर्मचारीलाई सम्मान गरे।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारी राम्रा भए जनताले सहज सेवा पाउने बताउँदै संस्थालाई गलत दिशामा लानबाट रोक्न कर्मचारीको महत्त्वपूर्ण भूमिका हुने बताए।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भक्तपुर नगरपालिका समितिका अध्यक्ष गौतमप्रसाद लासिवा, भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाललगायतले राजनीतिक रूपले सचेत कर्मचारीले मात्रै देश र जनताको हितमा काम गर्न सक्ने बताए।


