काठमाडौँ- प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले नेपाली खानालाई अन्तर्राष्ट्रियरुपमा ‘ब्राण्डिङ’ गर्नुपर्ने बताएकी छन्।
रेस्टुरेन्ट तथा बार एशोसियसन नेपाल (रेवान) को ३४औँ वार्षिक साधारणसभा तथा ११ औँ महाधिवेशनको उद्घाटनसत्रमा उनले नेपाली खानामा विविधता रहेकाले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न छुट्टै ‘ब्राण्डिङ’ गर्नुपर्ने बताएकी हुन्।
‘नेपाली खानालाई विश्वमाझ पस्कन रेवानको महत्वपूर्ण भूमिका रहेको छ, रेवानले यस्ता कुरामा ध्यान दिनुपर्छ’, उनले भनिन्। अन्तर्राष्ट्रिय पर्यटनमा नेपाली जनशक्तिको उच्च माग रहेकाले रेस्टुरेन्ट एण्ड बारले दक्ष जनशक्ति उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्ने उनको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई सवल बनाउनका लागि रेवानले खेलेको भूमिका सह्राहनीय रहेको बताए। ‘अनुगमन गर्ने धेरै चिज छन् तर बजारमा आएर व्यवसायीलाई तर्साउने काम नगर्नुस्, पहिले सुन्ने अनि थुन्ने प्रवृत्तिको विकास गरौँ’, उनले भने। सरकारले निजी क्षेत्रलाइ हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीले पछिल्लो समय नेपाली रेस्टुरेन्टमा गएर खाने संस्कृतिको विकास हुँदै गएको बताए। ‘पाहुनालाई स्वच्छ र सफा खाना खुवाउनुपर्छ’, उनले भने, ‘नेपाली खानालाई विश्वमाझ चिनाउन रेवानको भूमिका महत्वपूर्ण छ।’
रेवानका वरिष्ठ उपाध्यक्ष सङ्घर्ष विष्टले रेवानले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि काठमाडौँ, पोखरा, सौराह, बन्दीपुरलगायतका पर्यटकीय क्षेत्रमा सडक महोत्सव आयोजना गरिरहेको बताए।
कोरोना महामारीबाट मारमा परेको अर्थतन्त्रलाई सडक महोत्सवले सहयोग पुग्ने उनको भनाइ थियो। उनले भ्याटलाई १३ प्रतिशतबाट घटाएर एकल अङ्कमा झार्नुपर्ने र सबै व्यवसायीलाई भ्याटको दायरमा ल्याउनुपर्ने उल्लेख गरे। विष्टले रेस्टुरेन्ट व्यवसायलाई उद्योगको मान्यता दिन आग्रह गरे।
रेवानको अध्यक्षमा विष्ट निर्वाचित
रेस्टुरेन्ट तथा बार एशोसियसन नेपाल (रेवान)को अध्यक्षमा सङ्घर्ष विष्ट निर्वाचित भएका छन्। रेवानको ३४औँ वार्षिक साधारणसभा तथा ११औँ महाधिवेशनबाट विष्टको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
रेवानको प्रथम उपाध्यक्षमा नरेसध्वज श्रेष्ठ, क्षेत्रगत उपाध्यक्ष पोखराबाट लक्ष्मण बराज, क्षेत्रगत उपाध्यक्ष सौराहबाट नरेश गिरी, महासचिव शरदकुमार दाहाल, कोषाध्यक्ष विप्लब भट्ट, सचिव सचिन कर्माचार्य, सहकोषाध्यक्ष उद्धव ढकाल निर्वाचित भएका छन्।
यस्तै सदस्यमा अनुपलाल कक्षपति, नृपेश श्रेष्ठ, गुणराज श्रेष्ठ, तेजस सुन्दरलाल कक्षपति, रितेज श्रेष्ठ र डोलबहादुर थापा सारु, एकराज अधिकारी र देवेन्द्र गिरी निर्वाचित भएका छन्।
निवर्तमान अध्यक्ष अरनिको राजभण्डारी स्वत सदस्य हुने व्यवस्था छ। रेवान पोखराबाट सदस्यमा नरेश भट्टराई, रेवान सौराहबाट ध्रुव गिरी, रेवान बन्दीपुरका जीतेन्द्रलाल भूमि र रेवान चितवनका अच्युत भट्ट निर्वाचित भएका छन्। विगत ३५ वर्षदेखि नेपालको रेष्टुरेन्ट व्यवसायमा संलग्न विष्टले अध्यक्ष निर्वाचित भएपछि रेवानलाई नेपाल अधिराज्यभर विस्तार गर्ने बताए।


