काठमाडौँ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छन्।
संसदमा नेपाली कांग्रेसले उठाएका मागका विषयमा छलफल गर्न सभामुख घिमिरेले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका हुन्।
दिउँसो २ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेलाई छलफलका लागि सभामुखले बोलाएका हुन्।
यसअघि सोमबार नै बिहान साढे १० बजेका लागि बोलाइएको बैठक झन्डै ४ घण्टा सारिएको हो। प्रधानमन्त्री दाहाल चितवनका रहेको उनी बिहान १० मात्र फर्कने कार्यक्रम रहेकाले केही घण्टाका लागि बैठक सारिएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।
देशका विभिन्न स्थानका सहकारीमार्फत् ठगीमा हालका गृहमन्त्री लामिछाने संलग्न भएको आरोपल लागेकाले उनीमाथि संसदीय छानबिन समिति गठन गर्न कांग्रेसले माग गर्दै आएको छ। लामिछानेले भने आफू कुनै पनि ठगीमा संलग्न नभएको जिकिर गर्दै आएका छन् भने दाहाल र ओलीले समेत उनलाई संसदबाट सफाइ दिइसकेका छन्।
कांग्रेसले समिति गठन नभए आगामी बैठक चल्न नदिने चेतावनी दिएपछि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन्।
यसअघि संसदको अवरोध खुलाउने विषयमा यसअघि सभामुख घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए। उक्त छलफलमा कांग्रेसले उपप्रधानमन्त्री लामिछानेलाई संसदको रोष्ट्रम प्रयोग गर्न नदिने शर्तमा संसद बैठक चल्न दिने भनेको थियो।
सोमबार सभामुखले बोलाएको छलफलमा जानुअघि कांग्रेस सभापति देउवाले बूढानीलकण्ठमा छलफल गरेका छन्।
कांग्रेस संसदीय दलका वर्तमान र पूर्व पदाधिकारीसँग देउवाले संसदमा कांग्रेसले खेल्ने भूमिकाबारे छलफल कुराकानी गरेका थिए।


