धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिन हतार नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन्।
शनिबार राति ओली निवास बालकोट पुगेका सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलका नेता राजेन्द्र रावललगायतलाई यस्तो निर्देशन दिएका हुन्।
अध्यक्ष ओली केन्द्रमा देखिएका समस्या समाधान गरेर मात्रै विश्वासको मत दिनुपर्ने पक्षमा छन्।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका पछिल्ला अभिव्यक्ति र गतिविधिबारे छलफल गर्नुपर्ने पक्षमा ओली छन्।
शुक्रबार र शनिबार पनि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिनका लागि बल गरेका थिए। यसका लागि प्रदेशसभा बैठक बोलाइएको पनि थियो।
प्रदेशसभा बैठक बस्नुअघि प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नुपर्छ। उक्त बैठकमा शुक्रबार नगएको एमाले शनिबार पनि बिहानै संसदीय दलका नेता रावल काठमाडौँ लागेका थिए।
यसपछि दुवै दिनका बैठक स्थगित हुन पुगेका थिए। अर्को बैठकको मिति तोकिएको छैन।
विश्वासको मत लिन जेठ ५ गतेसम्म समय भएकाले अहिले नै हतार गर्नुपर्ने अवस्था नरहेको रावलले बताउँदै आएका छन्।
रावलले बझाङ क्षेत्र नम्बर १ ‘क’ मा सांसद थपिएको र उनी बुबाको निधनले बाहिर निस्कन बाँकी रहेकाले पनि मतबारे निर्णय गर्न पर्खिएको बताउँदै आएका छन्।


