काठमाडौँ– नेकपा एसका अध्यक्ष समेत रहेका संसदीय दलका नेता माधवकुमार नेपालले पार्टीको संसदीय दलको बैठक बोलाएका छन्। सोमबार दिउँसो संसदीय दलको बैठक बोलाइएको हो।
जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि त्यसको छर्रा आफ्नो दलमा समेत प्रवेश गर्न सक्ने भएकाले माधव नेपालले सतर्कता अपनाउँदै दलको बैठक बोलाएका हुन्।
नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको नेताहरुले बताएका छन्।
उपेन्द्र यादव र माधवकुमार नेपालले एमाले-माओवादी गठबन्धन तोडेरै भएपनि प्रधानमन्त्री बन्नका लागि बल गरिरहेका बेला जसपाका अधिकांश सांसदले पार्टी नै फुटाएपछि यी दुवै नेताको सपना तुहिएको छ।
नेकपा एसभित्र यही सरकारमा बस्नुपर्छ भन्ने र बाहिर रहनुपर्छ भन्ने दुवै मत छ। पार्टीका सम्मानित नेता झलनाथ खनाल एमाले-माओवादी समीकरणमा रहनुपर्ने पक्षमा छन्।


