काठमाडौँ- अनलाइन सट्टेबाजीमा २ अर्ब १ करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिकाका २४ वर्षीय अनील ढुंगाना छन्। ढुंगाना पछिल्लो समय भक्तपुर सूर्यविनायक नगरपालिका-२ मा बस्दै आएका थिए।
विभिन्न व्यक्तिहरुका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म २ अर्ब १ करोड १८ लाख ४४ हजार रुपैयाँ कारोबार गरेको भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीमाथि मुलुकी अपराध संहिता २०७४को दफा १२५ र दफा २३२ अनुसार कारबाही गर्ने प्रक्रिया अघि बढाएको छ। ती दफामा क्रमश: जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर र अभौतिक मुद्राको प्रयोग गर्न नहुने उल्लेख छ।
यस्तै प्रहरीले उनीमाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ का आधारमा पनि अनुसन्धान गर्नेछ। उनलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाइएको छ।


