काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नदीजन्य पदार्थ ढुङ्गा, गिटी बालुवा सरकारी दररेटभन्दा कम कायम गरी ठेक्का दिएर ठूलो रकम अनियमितता गरेको आरोप उनीहरूमाथि लागेको छ।
आयोगले सोमबार विशेष अदालतमा ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकसहित मेयरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। उनीहरूले १ अर्ब ४ करोड ८७ लाख ४५ हजार २ सय ८७ रुपैयाँ हानी नोक्सानी पुर्याएको अभियोगपत्रमा उल्लेख छ।
अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै मेयर महर्जन निलम्बनमा परेका छन्।
आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको ठहर गरेको छ।
अख्तियारले लेले र नल्लुका ढुंगाखानीमा अनियमितता भएको आरोपमा सोमबार नै ५ वटा छुट्टाछुट्टै मुद्दा पेस गरेको छ ।
प्रतिवादी बनाइएका मेयर महर्जन नेपाली कांग्रेसबाट २०७४ को स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए ।


